खोप आयो...खोप आयो, पहुँचवालैले लायो

नेपालमा उमेर, वर्ग र पेसाका आधारमा लक्षित समूह तोकेर कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ। तर, लक्षित समूहमा रहेका नागरिकले सहज रूपमा खोप लगाउन पाएका छैनन्। घण्टौं लाम लागे पनि ज्येष्ठ नागरिक नै त्यत्तिकै घर फर्किएका थुप्रै उदारहण छन्। पहुँचवालाले भने सहजै घरमै पनि खोप लगाउन पाएका छन्। 

खोपको आसमा रहेका ७२ प्रतिशत नागरिकलाई खोपमा पहुँच पुर्‍याउन धौ–धौ देखिएको छ। विश्वभर साढे ३ अर्बभन्दा बढी व्यक्तिले खोप लगाउँदा नेपालमा ४.३ प्रतिशतले मात्र पाएको देखिन्छ। कोरोना भाइरसबाट जोगिन १८ वर्षभन्दा माथिका नागरिकको नजर खोपमै केन्द्रित छ। देशव्यापी रूपमा २९ असारदेखि खोप अभियान सञ्चालन गरिए पनि कतिपय जिल्लामा स्थगन गरिएको छ।  

मुलुकभर जारी अभियानमा तीन किसिमका खोप लगाइएको छ। कोभिसिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोभिसिल्डको पहिलो डोज लगाउनेको संख्या १८ लाख २८ हजार ४ सय ८४ छ। दोस्रो डोज पाउनेको संख्या ४ लाख ६० हजार ७ सय ३४ छ। १४ लाख २३ हजार ४ सय ४७ जनाले भेरोसेलको पहिलो डोज लगाएका छन्। भेरोसेलको दोस्रो डोज पाउनेको संख्या ६ लाख ८२ हजार ३ सय ९२ छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार पछिल्लो समय सञ्चालन भइरहेको जोन्सन एन्ड जोन्सन एक डोज मात्र लगाए पुग्छ। ८१ हजार ३ सय ५२ जनाले यो खोप लगाएका छन्। 

प्रकाशित मिति: : 2021-07-22 09:24:00

प्रतिकृया दिनुहोस्