शान्ता नेपालीलाई नेपाली राष्ट्रिय फुटबल टिमबाट १ लाख सहयोग

नेपाली राष्ट्रिय फुटबल टिमले वालिङ नगरपालिका टिमकी स्ट्राइकर शान्ता नेपालीलाई एक लाख रुपैयाँ सहयोग गरेको छ।

नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको सहयोगमा नेपाली टिमका खेलाडीहरुले उक्त सहयोग रकम नेप्लेज डटकमका सम्पादक मुक्तिबाबु रेग्मीलाई हस्तान्तरण गरेका हुन्।

राष्ट्रिय टिम बसेकै होटेलमा नेपाली खेलाडी विकेश कुथु र सुुमन अर्यालले रेग्मीलाई सहयोग रकम हस्तान्तरण गरेका थिए। सो अवसरमा कुथुले नेप्लेजको युट्युव च्यानलमा शान्ताको कथा हेरेपछि आफू भावुक भएको बताए।

खेलाडीहरुलाई खेल्ने वातावरण मिलाउनका लागि सक्दो सबैले सहयोग गर्दा देशले नै उत्कृष्ट खेलाडी पाउने विश्वास व्यक्त गरे। उनले आफूहरुले गरेको सहयोग शान्ताको हातमा पु¥याइदिन पनि अनुरोध गरेका थिए।

नेप्लेज डटकमले शान्ताको परिवारलाई आर्थिक सहयोग गर्ने उद्देश्यले सामाजिक सञ्जालमा सहयोग गर्न अपील गर्दै भिडियो पोस्ट गरेपछि अहिलेसम्म अस्ट्रेलिया बस्ने भैरहवाका मुकुल क्षेत्रीले ५० हजार तीन सय रुपैयाँ पठाएका छन्।

विगतमा आफू पनि फुटबल खेलाडी रहेको बताउँदै क्षेत्रीले नेपाली खेलाडीको अवस्थाबारे जानकार रहेको बताउँदै आगामी दिनमा पनि सहयोग गर्न आफू तयार रहेको नेप्लेजलाई बताए।

यसैगरी स्यान्सु भुसालले ५ हजार सहयोग गरेका छन्। अहिले पनि सहयोग गर्नका लागि सम्पर्क गर्नेहरुको संख्या बढेको छ। अहिले देश विदेशबाट शान्ताको भिडियो हेरेपछि सहयोग गर्नेहरुले निरन्तर सम्पर्क गरिरहेको र उनीहरुले पठाउने क्रम पनि जारी रहेको छ। अहिलेसम्म १ लाख ६० हजार बढी सहयोग रकम जम्मा भएको छ र पठाउनेको नामावली क्रमश सार्वजनिक गर्दै जाने छ।

वालिङमै पुगेर शान्ता र उनको परिवारलाई रकम हस्तान्तरण गर्ने र सवै हिसाव सार्वजनिक गरिने छ। गरिबीकै कारण शान्ता अहिले फुटबलमा अघि बढ्न सकिरहेकी छैनन्।

परिवारको जिविक चलाउनका लागि उनी अहिले अरुको घरमा काम गर्न बाध्य छिन् भने बाबु आमालाई राख्नका लागि भनेजस्तो घर पनि छैन। जसका कारण उनी अहिले वालिङ नगरपालिकाले बनाएको सार्वजनिक शौचालयको छतमा ब्लक बनाएर बस्ने योजनाका साथ काम गरिरहेकी छिन्।

प्रकाशित मिति: : 2021-07-25 13:42:00

प्रतिकृया दिनुहोस्