पहुँचको भरमा ठेक्का लिँदै, अलपत्र पार्दै

अनेक पहुँच र विधि प्रयोग गरेर ठेक्का लिने तर काम नगर्दा जाजरकोटको विद्युतीकरणमा समस्या देखिएको छ। ठेक्का लिनेमा जनप्रतिनिधिदेखि पहुँचवाला राजनीतिक दलका व्यक्ति संलग्न हुँदा नेपाल विद्युत् प्राधिकरणलाई आफ्नो प्रगतिको लक्ष्य चुम्न मुस्किल परेको छ।

प्राधिकरणले ठेकेदारलाई छिटो लाइन विस्तारदेखि पोल गाड्ने काम गर्न आग्रह गर्दा सुनेर पनि नसुनेझैँ गरी बसेको बताएको छ। जिल्लाको सातै वटा स्थानीय तहमा दुई वर्षभित्र विद्युतीकरण गर्ने लक्ष्य लिएर थालिएको काम बीचमै ठेकेदारले काम नगर्दा ठूला योजना अलपत्र परेका छन्।

ठेक्का सम्झौता भएको छ महिनाभित्र निर्माण पूरा गर्ने भनिए पनि दुई वर्ष पूरा हुँदासम्म काम नहुँदा प्राधिकरणले ताकेता गर्दागर्दा हैरान भएको बताउँदै आएको छ। काम अलपत्र पार्ने निर्माण व्यवसायीले लिएका काम अहिलेसम्म जति भएको छ, ती सबै मापदण्डविपरीत भइरहेको पाइएको कार्यालयले जनाएको छ। सामान्य कामसमेत मापदण्डभित्र नरहेको प्राधिकरणको गुनासो छ। जाजरकोटी जनताको घरदैलोमा विद्युत् छिटोभन्दा छिटो पुर्याउने लक्ष्य निर्माण व्यवसायीका कारण दिनदिनै पछाडि धकेलिँदै गएको छ।

पश्चिम जाजरकोटको शिवालय र जुनिचाँदे गाउँपालिकामा विद्युत् पुर्याउने उद्देश्यले आर्थिक वर्ष २०७५/७६ मा खोलिएको ठेक्काको काम निर्माण व्यवसायी शान्तबहादुर बस्नेतले अहिलेसम्म नगर्दा समस्या भएको छ। मनघाटबाट सुवानाउलीसम्म पोल र तार तान्ने कामको ठेक्का उनले लिएका थिए। ठेक्का पाएको छ महिनाभित्र काम पूरा गर्ने भनिए पनि दुई वर्षसम्म आधा काम पनि भएको छैन। विद्युत् प्राधिकरणले धरौटी जफतका लागि बैंकलाई पत्र लेखिसकेको जाजरकोट वितरण केन्द्रका प्रमुख विशाल लामिछानेले बताए।

बस्नेतलाई सामग्री दिँदा पनि काम नगर्दा पश्चिम जाजरकोटमा विद्युतीकरण गर्ने कार्य अलपत्र पर्दै आएको छ। सामग्री लिएको तीन महिनाभित्र काम पूरा गर्नुपर्ने व्यवस्था रहेको प्रमुख लामिछाने बताए। लामिछानेले भने,'काम गर्छु भन्नुहुन्छ तर गर्नुहुन्न, छेडागाड नगरपालिकाको थलहबजारसम्म पोल गाडेको छ तर त्यसभन्दा माथि काम नगरेर बीचमै अलपत्र परेको अवस्था छ।'

त्यस्तै, जिल्ला समन्वय समितिका सदस्य तेजविक्रम शाहले (शाहीबाबा कन्स्ट्रक्शन) लिएको ठेक्काको काम पूरा नगर्दा पूर्वी जाजरकोटका बारेकोट र कुशे गाउँपालिकामा बिजुली बाल्न नसकिएको हो। उनले कुशेको पाँचकाटियाबाट कुशेसम्म जाने लाइन र नलगाड नगरपालिकाको कालिमटीबाट बारेकोट जाने लाइन निर्माणको ठेक्का लिएका थिए। आव २०७५/७६ मा लिएको उक्त ठेक्का सम्झौतामा छ महिनाभित्र काम पूरा गर्ने भनिएको थियो। काम गर्ने भन्दै ८०० भन्दा बढी पोलसमेत बुझिसकेका शाहले काम बीचमै छाड्दा सबै लथालिङ्ग भएको प्राधिकरणले जानकारी दिएको छ।

शाहले लिएका पोल नलगाड नगरपालिकाको रघुनाथलगायतका ठाउँमा सडकको माटो मुनि, खोल्सा मुनि र पहिराले पुरिएको अवस्थामा रहेका छन्। पटक–पटक कामका लागि ताकेता गर्दा पनि अटेर गरेर बसेको प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहले बताए। पूर्वी क्षेत्रको अनुगमनमा जाँदा लथालिङ्ग अवस्थामा रहेका पोल देखाउँदै सदस्य सिंहले भने, 'लाजलाई पनि लाज लागिसक्यो तर हाम्रा जनप्रतिनिधिले लिएको ठेक्कासमेत पूरा गर्नुहुन्न। काम नगर्नेले किन भए/नभएको ठेक्का लिनु ? यसरी कहाँ विकास निर्माणका काम गर्न सकिन्छ। यो त सरासर हामीलाई असफल गराउने काम भयो।'

शाहले लिएको ठेक्काको काम नहुँदा बारेकोट र कुशे गाउँपालिकामा विद्युतीकरणको काम ठप्प भएको छ। यो काम समयमा भएको भए अहिलेसम्म विद्युत् गाउँगाउँमा पुगी झिलीमिली भइसक्ने जाजरकोट वितरण केन्द्रले बताएको छ। सामग्री दिएर पनि काम नगर्दा निर्माण व्यवसायीहरूले दुःख दिएको प्राधिकरणको भनाइ छ। 

त्यस्तै, प्रदेशले गरेको ठेक्काको कामसमेत प्रभावकारी नभएको पाइएको छ। त्रिपुरेश्वरी जय दुर्गे जेभीले लिएको ठेक्काको काम कतै नभएको प्राधिकरणले जनाएको छ। मटेलाबाट भेर्याए जोड्ने लाइन काफलचौरसम्म लिएर अगाडिको काम लथालिङ्ग बनाएको छ। जाजरकोट–डोल्पा सडकखण्डको कालेगाउँ–रिम्नासम्म जोड्ने लाइन विस्तारको काम अलपत्र भएको छ। कालेगाउँबाट बहुनथाना पाँचकाटिया जोड्ने कामसमेत बीचमै छाडिएको छ। यो पनि आव २०७५/७६ कै ठेक्का रहेको जाजरकोट वितरण केन्द्रले जनाएको छ। निर्माण व्यवसायीलाई काम गर्न ताकेता गर्दा पनि सम्पर्कमै नआएको बताएको छ।

 

प्रकाशित मिति: : 2021-07-27 07:26:00

प्रतिकृया दिनुहोस्