व्यवसायीलाई खोप उपलब्ध गराउन आग्रह

Symbolic photo
Symbolic photo

पोखरा उद्योग वाणिज्य सङ्घले उद्योगी/व्यवसायीलाई कोभिड–१९ खोपको प्राथमिकताको सूचीमा राख्न गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ।

सङ्घका अध्यक्ष नारायण कोइराला नेतृत्वको प्रतिनिधिमण्डलले आज मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसमक्ष पोखराको पर्यटनसहित समग्र व्यवसाय जोगाउने दायित्व सरकारकै भएको स्मरण गराए।

व्यवसायीले खोप पाउँदा अर्थतन्त्र उकालो लाग्ने जिकिरसहित ज्ञापनपत्र बुझाउँदै प्रतिनिधिमण्डलले कोभिडसँगैको निषेधाज्ञाले धरासायी बनेको व्यवसायलाई पुनःर्जीवन दिन तथा दैनिक हजारौँ व्यक्तिसँग सम्पर्क हुने व्यवसायी खोपबाट बञ्चित हुँदा समाजमा सङ्क्रमण फैलन सक्ने खतराप्रति सचेत रहन आग्रह गरेको छ।

ज्ञापनपत्र बुझेपश्चात् मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले व्यवसायीसहित प्रदेशका सबै नागरिकलाई खोप दिलाउन सरकार निरन्तर लागिरहेको जानकारी दिए।

सरकारको पहिलो प्राथमिकता खोप नै भएको उल्लेख गर्दै उहाँले प्रदेश सरकारले खोपकै लागि बजेट पनि विनियोजन गरेको बताए।

प्रदेश तहबाट खोप खरीदको बाटो नखुल्दा र खोपको मात्रा केन्द्रले नै तोक्ने हुँदा सबैलाई समयमा खोप दिन नसकिएको बताउँदै उनले केन्द्र सरकारसँग केही बढी खोप मागिएको र पर्याप्त खोप आउनासाथ प्राथमिकता तोकेर सबैलाई दिने विश्वास व्यक्त गरे।

प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले व्यवसायीका लागि खोप दिने कार्य शुरु गर्नेतर्फ गण्डकी प्रदेश सरकारले पहल गरेको जानकारी दिँदै खोप प्राप्त भएपछि अर्थतन्त्रले गति लिन्छ भन्नेमा आफूहरू सहमत भएको बताए। 

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवाले खोपलाई प्राथमिकतामा राख्नु सकारात्मक भएको बताउँदै यथाशक्य छिटो व्यवसायीलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

व्यवसायीका लागि निश्चित मात्रामा खोप छुट्याएर पोखरा प्रदर्शनी केन्द्रमै खोप लगाउने व्यवस्था मिलाउन उनले सुझाव दिए।

नेपाल पर्यटन बोर्डका पूर्वसदस्यद्वय गणेशबहादुर भट्टराई र वासु त्रिपाठी, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई, पूर्वअध्यक्ष चिरञ्जिवी पोखरेल, पोखरा पर्यटन परिषद्का महासचिव रामचन्द्र शर्मालगायतले पोखरामा व्यवसायीका लागि कम्तीमा २० हजार मात्रा खोप उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याए।   

प्रकाशित मिति: : 2021-07-28 21:56:00

प्रतिकृया दिनुहोस्