प्लाष्टिक उद्योग बन्द गर्न कागेश्वरी मनोहरा न्यायिक समितिको आदेश

File photo
File photo

कागेश्वरी मनोहरा नगरपालिका न्यायिक समितिले वडा नं ५ स्थित थली चौरनजिकै आवश्यक प्रक्रिया पूरा नगरी सञ्चालन गर्न खोजिएको पशुपति रिसाइकल इण्डष्ट्रीज प्रालिलाई काम रोक्न आदेश दिएको छ। 

स्थानीय टोलवासी र सँधियारको स्वीकृति नलिई आवश्यक कानूनी प्रक्रियासमेत पूरा नगरी प्लाष्टिक रिसाइकल गर्ने उद्योग सञ्चालन गर्न लागिएकामा स्थानीयवासीको उजुरी र विरोधका कारण सञ्चालन नगर्न आज समितिका संयोजक नगरउपप्रमुख बिन्दु सिम्खडा पुडासैनीको नेतृत्वको इजलासले आदेश दिएको नगरपालिकाका प्रवक्ता एवं वडा नं. ५ का अध्यक्ष राजाराम पुडासैनीले राससलाई जानकारी दिए। 

स्टोर चलाउने भन्दै प्लाष्टिक रिसाइकल गर्ने उद्योग सञ्चालन गर्न खोजेपछि स्थानीयवासीले वडाकार्यालय, नगरपालिकासमेतमा ज्ञापनपत्र बुझाउँदै विरोध जनाउँदै आएका थिए। 

न्यायिक समितिको इजलासमा आज बहस भइरहेका बेलासमेत २०० जनाभन्दा बढी स्थानीयवासीले नगरपालिका घेराउ गर्दै नाराजुलुस गरेका थिए । वडाबाट स्वीकृति नै नलिई उद्योगीले टहरा बनाएको पनि वडाअध्यक्ष पुडासैनीले जानकारी दिए। टहरा बनाइसकेपछिमात्र उद्योगी टहरा निर्माणको स्वीकृत माग्दै वडाकार्यालय पुगेका थिए।  

उद्योगसँग सीमा जोडिएका स्थानीयवासी कर्मा शेर्पा निर्माण शुरु भएदेखि नै उद्योग सञ्चालक आनन्दकुमार अग्रवाल र अजय अग्रवाललाई के बनाउन लागेको भनी सोद्धा स्टोर गर्न टहरा बनाएको सुनाएको बताउछन्। 

टहरा निर्माण सम्पन्न गरेपछि ठूलाठूला यन्त्र झार्न थालेपछि प्लाष्टिक रिसाइकल गर्ने उद्योग बस्तीकाबीच चलाउन लागेको थाहा पाएर त्यसविरुद्ध स्थानीयवासी एकजुट भई विरोधमा उत्रेको उनले सुनाए। 

उद्योग सञ्चालनका विषयमा वातावरण मन्त्रालयले गोलमटोल भाषामा स्वीकृति दिएको भेटिएको वडाअध्यक्ष पुडासैनी बताउछन्। उद्योग चलाउन लागिएको स्थानको २०० मिटरभित्र विद्यालय र अस्पतालसमेत छ। 

त्यस स्थानमा उद्योग चलाउन नदिने भन्दै स्थानीयवासीले एक वर्षअघिदेखि विरोध जनाउँदै आएका छन्। उद्योगले वातावरणीय प्रभाव मूल्याङ्कनसमेत नगरेको स्थानीयवासीको गुनासो छ। 

प्रकाशित मिति: : 2021-07-30 19:42:00

प्रतिकृया दिनुहोस्