‘दी भ्वाइस अफ नेपाल’मा अन्तिम उत्कृष्ट चार जना छानिएका छन्। शुक्रबार भएको सेमिफाइनलमा चार टीमका एक–एक जना प्रतिभाहरु ग्राण्ड फिनालेमा प्रवेश गरेका हुन्।
जसमा टीम दीपबाट आर्यान तामाङ, टीम राजुबाट तारा श्रीषमगर, टीम तृष्णाबाट ज्वाला राई र टीम प्रमोदबाट किरण गजमेर टप फोरमा छानिएका हुन्।
टीम दीपबाट गोविन्द पुन, टीम राजुबाट सोनाम शेर्पा, टीम तृष्णाबाट अफ्रिता खड्की र टीम प्रमोदबाट रवीन गहतराज बाहिरिएका छन्। एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो।
शनिवार (आज)को एपिसोडमा यी चारै जना प्रतिभाहरुले फिनालेको भोटका लागि आफ्ना प्रस्तुतिहरु दिनेछन्। अर्को शनिबार हुने ग्राण्ड फिनालेमार्फत् यी चारजनामध्ये एक जनाले ‘द भ्वाइस अफ नेपाल सिजन ३’ को उपाधि प्राप्त गर्नेछन्।