कर्मचारीलाई दुर्व्यवहार गरेको भन्दै ध्यानाकर्षण

File photo
File photo

जनप्रतिनिधिबाट कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै स्वास्थ्य कार्यालय चितवनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

कार्यालयले आज जारी गरेको विज्ञप्तिमा गत शुक्रबार प्रयोगशाला भवन खोप केन्द्रमा आफ्नो जिम्मेवारी पालना गर्दै खोप कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा कर्मचारीमाथि जनप्रतिनिधिबाट दुर्व्यवहार भएको जनाइएको छ। 

सो दिन भरतपुर महानगरपालिका–१० का अध्यक्ष अरुणपीडित भण्डारीले खोप केन्द्रमा रहेका कर्मचारीसँग भनाभन भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। 

विज्ञप्तिमा भनिएको छ, 'महामारीमा आफ्नो र परिवारको जीवनलाई समेत धरापमा राखेर अहोरात्र खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीको योगदानको कदर गर्दै अनुकरणीय कार्यको प्रशंसा एवं सहयोग गर्नुको साटो उल्टो धम्क्याउने र गालीगलोज गर्नु सर्वथा निन्दनीय कार्य हो।'

सबै सरोकारवाला निकाय मिलेर स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्ने सुरक्षित वातावरण बनाइदिन विज्ञप्तिमा अनुरोध गरिएको छ।

सेवा प्रदानका सम्बन्धमा भएका गुनासाहरु विधि र प्रक्रियाअनुसार राख्नसमेत अनुरोध गरिएको छ। कार्यालयका प्रमुख दीपकप्रसाद तिवारीद्वारा जारी विज्ञप्तिमा स्वास्थ्यकर्मी तथा कर्मचारीको मनोबल खस्किन नदिई कार्य प्रेरणा बढाउनाका साथै यस प्रकारको घटना भविष्यमा दोहोरिन नदिन आग्रह गरिएको छ। 

प्रकाशित मिति: : 2021-08-02 18:54:00

प्रतिकृया दिनुहोस्