नेपाली सेनाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको सहकार्यमा मनाङको ठाडो खोलामा काठेपुल बनाएर स्थानीयवासीलाई आवतजावतमा सहज तुल्याएको छ।
केही ससमयअघिको भारी वर्षाबाट मनाङको चामे गाउँपालिका–४ र ५ जोड्ने मस्र्याङ्दी नदीको बेलिव्रिज बाढीका कारण अवरुद्ध भएको र झोलुङ्गे पुल पनि बगाएपछि ङिस्याङ गाउँपालिका र चामेबीच आवतजावत पूर्ण बन्द भएको थियो।
काठेपुलसँग त्यस भेगका जनतालाई पैदल आवतजावत गर्नका लागि सेनाद्वारा गोरेटो बाटोसमेत निर्माण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
चामे गाउँपालिका–४ स्थित स्याल्कु खोलाको यातायातका सवारी साधनसमेत सञ्चालन हुने काठे पुल बगाए आवागमन अवरुद्ध भएपछि सेनाले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीसँगको सहकार्यमा साउन १५ गते खोलामा काठेपुल निर्माण गरेको हो।
पुल निर्माणसँगै जिल्ला सदरमुकाम, तिमाङसम्म र तलेखुसम्म हलुका सवारी साधन आवतजावत गर्न सहज भएको सेनाले जानकारी दिएको छ।
काठमाडौँबाट २४ जना यात्रु लिएर बुर्तिबाङतर्फ गइरहेको बा५ख १५५३ नंको बस बाग्लुङ्ग गलकोट नगरपालिका–१ चौराहा नजिक दुर्घटना भएकामा श्रीमेहर गणबाट खटिएको उद्धार तथा मेडिकल टोलीले ६ जनालाई थप उपचारका लागि धौलागिरि अञ्चल अस्पताल पठाएको जानकारी दिइएको छ। रासस