कांग्रेसकै सरकार हुँदा उसैका सांसद-उद्योगी कनौडियाले उखु किसानको २५ करोड तिर्न बाँकी

किसान भन्छन्- पहिले चिनी बेचेर दिन्छु भन्थे, पछि सखर बेचेर दिन्छु भने तर दिँदैनन्

सेतोपाटी

काठमाडौं

उखु किसान संघर्ष समितिका अध्यक्ष रामस्वार्थ राय, सचिव हरिश्याम यादव लगायत पाँच-छ जना सदस्य गत सोमबार काठमाडौं आए। काठमाडौं आएर उनीहरूले पत्रकार सम्मेलन गरे र उखु किसानले भुक्तानी नपाएको गुनासो सुनाए।

यसपालि गुनासो राख्दा कांग्रेस नेतृत्वको सरकारले भुक्तानी दिलाइदेला भन्ने उनीहरूलाई आश थियो। किनभने, २०७६ पुसमा उखु बेचेको पैसा भुक्तानी माग्दै राजधानीमा भोकैतिर्खै आन्दोलन गर्दा उनीहरूले कांग्रेसको साथ र समर्थन पाएका थिए।

त्यतिबेला नेपाली कांग्रेस सत्ताबाहिर प्रमुख प्रतिपक्षी दल थियो। कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्ति निकालेर उखु बिक्री गरेबापत् किसानले भुक्तानी नपाएकोमा ध्यानाकर्षण भएको जनाए। उनले समयमै रकम भुक्तानी नपाउनुले किसानमाथि अन्याय भएको विज्ञप्तिमा लेखे।

पुरानो र नयाँ भुक्तानी उपलब्ध गराउने विषयमा पटक-पटक सरकारी निकायको रोहबरमा किसान र उद्योगीबीच सहमति हुने तर कार्यान्वयन नहुने भन्दै कांग्रेसले दु:ख पनि जनायो। आन्दोलनमा उठाइएका मागप्रति पूर्ण समर्थन पनि गर्‍यो।

त्यो बेला उखु किसानको पक्षमा समर्थन र सहानुभूति देखाउने कांग्रेसका सभापति शेरबहादुर देउवा अहिले प्रधानमन्त्री छन् भने विज्ञप्ति जारी गर्ने प्रमुख सचेतक खाण गृहमन्त्री छन्। यही बेला किसानलाई भुक्तानी नदिएको आरोप पनि कांग्रेसकै सांसदलाई लागेको छ।

प्रकाशित मिति: : 2021-08-04 11:05:00

प्रतिकृया दिनुहोस्