कर्णालीमा पुल बनाउने गुमनाम पात्र : जसको मृत्युको कारण ४८ वर्षसम्म रहस्यमै

दलवीरसिंह कामी, जसले बनाएका थिए दर्जन पुल

अन्नपूर्ण पोष्ट

हिक्मतबहादुर नेपाली

कर्णालीका एक इतिहास हुन्, दलवीरसिंह कामी। जसले ३ कक्षासम्म पढे। तर, आफ्नो ज्ञान र सीपले झोलुंगे पुल निर्माणमा इन्जिनियरसरह बने। उनको क्षमताको कदर गर्दै जिल्ला पञ्चायतमा सब–ओभरसियरको जागिर दिइयो। उनै इतिहास गुमनाम प्रायः छन्। उनको मृत्यु ४८ वर्षदेखि रहस्यमै छ।

उनको जन्म दैलेखको गुराँस–४ रतीखोलामा विसं १९७८ मा भएको थियो। उनी फलामका सामान बनाउँथे। पछि बुवासँगै सुर्खेत झरे। सुर्खेतमा आरन चलाए। उनले भेरी नदीमा पुल नहुँदा गाउँलेले भोगिरहेको सास्ती नियालिरहेका थिए। त्यही भएर २०१९ सालतिर झोलुंगे पुल बनाउन सुर कसे। आफू धनी भएर होइन, भेरीमा पुलको आवश्यकता ठानेर। 
उनले आफ्नो सीप उपयोग गर्दै निर्माण सामग्री तयार पारे। जसमा लामो फलामे साङ्लो, छोटो तार र अन्य सामग्री थिए। त्यसमा गाउँलेले सहयोग गरे। पुलमा हिँड्न स–साना फल्याक राखियो। दायाँ–बायाँ बलियो गरी तारहरू बाँधियो। अनि झोलुंगे पुल तयार भयो। 

उनले सुर्खेतको रानीघाटमा पहिलो पुल बनाएको जानकार बताउँछन्। सुर्खेतकै उत्तरगंगास्थित भेरी नदीमा २०२० सालको सुरुवातमा करिब ४ सय ३५ फिट लामो झोलुंगे बनाए। सुर्खेतकै रामघाटमा पनि पुल बनाएको इतिहास फोटोग्राफर सुनील उलकले संकलन गरेका छन्। त्यसपछि दलवीरमा पुल बनाउने ‘पागलपन’ नै चढ्यो। चिंगाड खोलामा पनि पुल तयार भयो। ठाउँ–ठाउँमा पुल बनाउँदै गर्दा स्थानीयले साथ र हौसला दिन्थे। पुल तयार भएपछि नागरिकलाई धेरै आवत–जावत गर्न सहज भयो।  

 

 

प्रकाशित मिति: : 2021-08-05 09:08:00

प्रतिकृया दिनुहोस्