बागलुङ बजारको एक दर्जन घर पहिराको जोखिममा

सांकेतिक तस्वीर
सांकेतिक तस्वीर

बागलुङ बजारको अदालत चौपारी, कम्पुटोल र नारायण चोकका एक दर्जनभन्दा बढी घर पहिराको जोखिममा परेका छन्। बागलुङ नगरपालिका–३ कैलाम पोखरीको वन हुँदै अदालत चौपारीसम्म पुग्ने सडकखण्ड पहिराले बगाएकाले २० दिनदेखि बन्द छ।

तलबाट पहिरो खस्दै गएकाले सडकका साथै बजार छेउकै दर्जनभन्दा बढी घर जोखिममा परेको त्यहाँका बासिन्दा बताउँछन्। निरन्तरको वर्षा र बस्तीमुनिको बगालुङ नगर खानेपानी लिफ्ट आयोजना निर्माणाकै अवस्थामा रहेकाले निरन्तर सडक भासिने र पहिरो जाने गरेको स्थानीयवासी पुष्पा केसीले बताए।

बागलुङ नगर खानेपानी उपभोक्ता संस्था र खानेपानी तथा ढल व्यवस्थापन विभागको संयुक्त लगानीमा तीन वर्षदेखि निर्माण भइरहेको सो आयोजना अपुरै रहँदा कम्पुटोल, देउराली चोक तथा नारायण चोकका घर गत वर्षदेखि पहिरोको जोखिममा पर्दै आएका हुन्।

कम्पुटोलका नौ घर गतवर्ष नै बर्खाको समयमा विस्थापित भइसकेका थिए भने देउराली चोकका पाँच घरका बासिन्दा पनि घर छोडेर अन्यत्रै बस्न गएका छन्।

अहिले पुनः अदालत चौपारीदेखि कम्पुटोल जाने पछाडितिरको सडक नै भासिएकाले पुनः एक दर्जन घर जुनसुकै बेला भत्कने अवस्थामा पुगेको छ। कमजोर भू बनोट भएका स्थानमा सचेतता र सुरक्षाबिना खानेपानी आयोजना निर्माण गरिएका  कारण यस्तो भएको जनाइएको छ।

रु ४५ करोडको लागतमा बगालुङ बजारमा २४ सै घण्टा पानी वितरण गर्न काठेखोलाको पानी कैलाम पोखरीमा प्रशोधन गरी वितरण गरिने योजना छ।

आयोजनाकै कारण बस्ती जोखिममा परेको कैलाम पोखरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जयराम भारीले गुनासो गरे।'नगरवासीलाई खानेपानी उपलब्ध गराउनाकै लागि भनेर वन मासेर आयोजना निर्माण गर्न दियौं,' उनले भने, 'आयोजनाका कारण सडकमा पहिरो जाने र भासिने भएकाले एकातिर आयोजना नै के हुने हो भन्ने  अन्योल छ भने अर्कोतिर दर्जनभन्दा बढी घर जोखिममा छन्।'

मनसुन सक्रिय भएयता निरन्तरको झरीले कम्पुटोल हुँदै गौँडाकोट जाने सडक बगाएर पैदल यात्रासमेत गर्न नसकिने भएकाले स्थानीयवासी देउराली चोकको सडक प्रयोग गर्न बाध्य भएका छन्। यसबारे वडा कार्यालय र नगरपालिकालाई ध्यानार्कषण गराउँदा पनि हालसम्म सुनुवाइ नभएको उनीहरूको गुनासो थियो।

आयोजना र विभागसँग पहिराको विषयलाई लिएर निरन्तर छलफल भइरहेको नगरपालिकाको वडा नं ३ का अध्यक्ष लक्ष्मी बाँस्कोटाले जानकारी दिए।

'ठूलो पहिरो छ, ग्याबिन चिनेर र पर्खाल लगाएर सडक बनाउदासमेत लाखौं खर्च लाग्ने अवस्था छ, थोरै खर्चको भए वडा कार्यालयले बनाउथ्यो' उनले भने, 'नगरपालिकासँग छलफल गरेर आयोजना संरक्षण र पहिरो व्यवस्थापन गर्न भनेका छौँ तर नागरिकको अपेक्षानुसार सडक सञ्चालनमा ल्याउन र बस्ती सुरक्षित गर्न मुस्किल छ।'

नगर प्रमुख जनकराज पौडेलका अनुसार अहिले पहिराको अनुगमन गरिएको र ठेक्का लिएको कम्पनीले पहिरो मर्मत नगरेपनि आयोजना संरक्षणका लागि छुट्टै बजेट ल्याएर काम गर्नुपर्ने देखिएको छ।

पाँच महिनामै गुम्बा पुनःनिर्माण

भूकम्पले जीर्ण बनाएको केही धार्मिक संरचनाको निर्माण निर्माणमा ढिलाइ भइरहको अवस्थामा यहाँ भने एक गुम्बा पाँच महिनामै निर्माण गरिएको छ।

भूकम्पले क्षति पु-याएको बागलुङ नगरपालिका–११ रायडाँडास्थित उक्त गुम्बा  पुनःनिर्माण थालिएको  पाँच महिनामै सकिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजनाले जनाएको हो।

प्राधिकरण र शान्ति बौद्व बिहारको साझेदारीमा पुनःनिर्माण गरिएको हलेस्थित उक्त गुम्बा विसं २०६२ मा स्थापना गरिएको थियो। आठ वर्षपछि गुम्बा सञ्चालनमा आए पनि २०७२ सालको भूकम्पले क्षति पु-याएको थियो।

प्राधिकरणका जिल्ला आयोजना कार्यान्वयन एकाइ प्रमुख प्रमुख रेणुका पाण्डेका अनुसार रु ६१ लाखको लागतमा ८०० वर्गमिटर फराकिलो सो गुम्बा निर्माण भएको हो। कूल रू ६१ लाखमध्ये प्राधिकरणबाट रू ४० लाख र रू श्रमदानसहित रू २१ लाख स्थानीय गुम्बा व्यवस्थापन समितिबाट जुटाइएको थियो।

एक भिक्षुले नियमित पाठपूजा गर्दै आएको उक्त गुम्बा भूकम्पले क्षति पु-याएपछि भत्काएर भूकम्प प्रतिरोधी नयाँ गुम्बा निर्माण गरिएको बिहार निर्माण समितका अध्यक्ष रणबहादुर थापाले जानकारी दिए। 

प्रकाशित मिति: : 2021-08-05 14:59:00

प्रतिकृया दिनुहोस्