मेलम्चीमा किन पटक–पटक आइरहन्छ बाढी ? यस्तो छ अध्ययनको निष्कर्ष

इसिमोडको रिपोर्टले भन्छ– सानो हिमताल फुट्यो

बाह्रखरी

काठमाडौं

यही साउन १५ गते मेलम्ची नदीमा पुनः बाढी आएपछि मेलम्ची बजार, हेलम्बु र आसपासका क्षेत्रमा जोखिम बढेको छ । बस्तीको बीचबाट मेलम्ची बगेको छ । नदीले दिनहुँ आफ्नो धार परिवर्तन गरिरहेको छ ।

त्यस दिन राति बाक्लो लेदोसहितको बाढी आएको थियो । त्यसले तल्लो तटीय क्षेत्र दोलालघाटसम्म असर पुग्ने विज्ञहरुले औँल्याएका छन् ।

यसअघि, गएको असार १ गते आएको भीषण बाढीमा परी मेलम्चीमा ११ जनाको मृत्यु भएको थियो । २५ जना अझै बेपत्ता छन् । पुल, विद्यालय, पसल, होटेललगायत संरचना गरी अर्बौँको क्षति भएको छ ।

गएको साता सार्वजनिक दुइटा छुट्टाछुट्टै रिपोर्टले मेलम्चीमा विनाशको कारण बहुप्रकोप भएको देखाएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसीमोड) र नेपाल इन्जिनियर्स एसोसिएसनले गरेको अध्ययनले यस्तो निष्कर्ष निकालिएको हो । इसिमोडको रिपोर्टमा सानो आकारको हिमताल फुटेको उल्लेख छ ।

रिपोर्टअनुसार पेम्दिङ खोला क्षेत्रको हिउँ पग्लिँदा र वर्षासँगै गेग्रान बग्दा त्यहाँ रहेको सानो हिमताल फुटेको हो । वैशाख २९ गतेको स्याटेलाइट इमेजमा त्यहाँ रहेको सानो हिमताल वरिपरि हिउँले ढाकेको देखिएको र असार १ को घटनापछि असार ९ गते लिइएको स्याटेलाइट इमेजमा त्यो ताल नदेखिएको इसिमोडले जनाएको छ । उक्त तालसँगै ढुंगा, बालुवा (मोरान) बगेको इसिमोडको रिपोर्टमा उल्लेख छ । इसिमोडले २७ सय ६१ मिटर स्क्वायरको हिमताल पेम्दाङ खोलाको सिरानमा देखिएको जनाएको छ ।

प्रकाशित मिति: : 2021-08-08 12:05:00

प्रतिकृया दिनुहोस्