सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का राजमार्ग अन्तर्गतको छ्याङ्कुटी–देउराली सडक खण्ड चिचिला गाउँपालिकाले बन्द गरेको छ।
चिचिला छ्याङ्कुटी–देउराली सडक खण्ड बिग्रेको र सम्बन्धित निकायले सडक बनाउन बेवास्ता गरेको भन्दै सडक बन्द गरेको चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्बू शेर्पाले जानकारी दिए।
अरुण तेस्रो आयोजनाका मालबहाक सवारीसाधन जथाभावि पार्किङ गर्ने र सडक मर्मतमा विभिन्न निकायमा अनुरोध गर्दासमेत बेवास्ता गरेपछि गाउँपालिकाले सूचना सार्वजनिक गर्दै आजदेखि सडक खण्ड बन्द गरेको अध्यक्ष शेर्पाले बताए।
अरुण तेस्रोका ठूला मालबाहक सवारीसाधनका कारण छ्याङ्कुटी चिचिला–देउराली सडक खण्ड बिग्रेपछि एम्बुलेन्स सञ्चालनमासमेत समस्या भएको छ। सो सडक खण्ड मर्मत नभएसम्म अरुण तेस्रो आयोजनालगातयत ठूला सवारीसाधन चल्न नदिने अध्यक्ष शेर्पाको भनाइ छ।
गाउँपालिकाले सङ्खुवासभा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल र उत्तर दक्षिण सडक कार्यालयलाई अनुरोध गर्दा पनि बेवास्ता गरेका कारण सडकखण्ड अवरुद्ध गर्न बाध्य भएको उनको भनाइ छ।
लगातारको वर्षाले अरुण तेस्रोका ठूला सवारीसाधन बिग्रेर सडकमा अलपत्र पार्किङ गरेका कारण सडकको कुलो, ड्रेन भत्किएकाले सडक झन बिग्रिदै जाँदा स्थानीयवासीले सास्ती भोग्नु परेको उनले गुनासो गरे।
छ्याङ्कुटी–देउराली सडकखण्डमा एम्बुलेन्सलगायत अत्यावश्यक साना सवारीसाधन भने सञ्चालन हुने अध्यक्ष शेर्पाले जानकारी दिए।