श्यामबहादुर कार्की स्मृति प्रतिष्ठानले भक्तपुरको मध्यपुर थिमि–३ कौशलटारस्थित मानव सेवा आश्रमलाई आज खाद्यान्न सहयोग गरेको छ।
स्व श्यामबहादुर कार्कीको १४औँ स्मृति दिवसका अवसरमा प्रतिष्ठानले आश्रमलाई खाद्यान्न सहयोग गरेको हो। स्व कार्की तत्कालीन बालकोट गाउँ विकास समितिका अध्यक्ष थिए।
उनी नेपाली कांग्रेसले शुरु गरेको आन्दोलनमा सहभागी भएर प्रजातन्त्र प्राप्तिका लागि अग्रमोर्चामा रहेर योगदान गर्ने प्रजातन्त्र सेनानी थिए।
प्रतिष्ठानले उनको स्मृति दिवसका अवसरमा प्रत्येक वर्ष रक्तदान आयोजना गरी बालकोट क्षेत्रका सामुदायिक विद्यालयलाई पोसाक र पुस्तकलगायत शैक्षिक सामग्री वितरण गर्दै आएकामा यो वर्ष कोभिड सङ्क्रमणको जोखिमका कारण आश्रमलाई खाद्यान्न सहयोग गरेको प्रतिष्ठानका अध्यक्ष एवम् स्व कार्कीका छोरा विष्णुराज कार्कीले बताए।
खाद्यान्न हस्तान्तरण गर्दै नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले स्व कार्की विकासप्रेमी र समाज परिवर्तनका अगुवा नेता भएको स्मरण गरे। उनले प्रत्येक वर्ष सामाजिक उत्तरदायित्व बहन गर्दै स्व कार्कीको स्मृतिमा प्रतिष्ठानले मानव कल्याणको कार्य गर्दै आएकामा खुसी व्यक्त गरे।
आश्रममा ४० जना आश्रित रहेको जानकारी दिँदै आश्रमका संयोजक जानुका पौडेलले सहयोगी हातहरुको सहयोगले नै आश्रमले सहाराविहीन नागरिकलाई आश्रय दिँदै आएको बताए।
सो अवसरमा वाग्मती प्रदेशसभाका सदस्य एवम् नेपाली कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, नेपाली कांग्रेस जिल्ला सचिवद्वय निशान ढुङ्गेल र उद्धव सिलवाल, सहसचिव किरण न्यौपाने, नेपाल महिला सङ्घ भक्तपुरका सभापति सरु बानियाँलगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।