खोप केन्द्रमा भीडभाड : सरकारको व्यवस्थापकीय कमजोरी

अनलाइनखबर

प्रेम लामा

कोभिसिल्ड खोप लगाएका जेष्ठ नागरिकहरुले ५ महिनापछि दोस्रो डोज पाएका छन् । भुटान र जापानले अनुदानमा दिएको एस्ट्राजेनेका खोप नेपाल आएपछि ६५ वर्षभन्दा माथिका जेष्ठ नागरिकले दोस्रो डोज पाएका हुन् ।

तर खोप लगाउन सहज छैन । अधिकांश खोप केन्द्रहरुमा लामो लाइन लाग्ने गरेको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ अनुगमनका लागि चपलीहाइट, शिक्षण अस्पताल लगायतका खोप केन्द्रमा पुग्दा पनि त्यस्तै भीड थियो ।

जनस्वास्थ्य विदहरुका अनुसार भीडभाड गरेर खोप लगाउँदा संक्रमणको जोखिम फैलने खतरा बढेको छ ।

सरकारको व्यवस्थापकीय कमजोरीकै कारण आम नागरिकले अनाहकमा सास्ती भोग्नु परेको संक्रामक रोग विशेषज्ञ डा. किरणराज पाण्डे बताउँछन् । ‘सुरक्षित रुपमा खोप कार्यक्रम सञ्चालन गर्ने कार्य एकदमै सामान्य हो जस्तो लाग्छ । तर सामान्य व्यवस्थापकीय कार्यमा पनि सरकार चुकिरहेको छ’ उनी भन्छन् ।

नागरिकलाई सुरक्षित खोप दिने व्यवस्थाका लागि उनी तीन वटा सहज विकल्प देख्छन् ।

पहिलो, बढी जनघनत्व भएका सहरी क्षेत्रमा अनलाइनमार्फत दिन किटान गरेर पनि नागरिकलाई खोप लगाउन बोलाउन । दोस्रो, सामाजिक सञ्जाल फेसबुक, भाइबर, ह्वाट्सएपबाट लिंक सेयर गरी अनलाइनमार्फत खोप लगाउने दिन तोने । भारत, पाकिस्तान लगायतका मुलुकमा यस्तो अभ्यास रहेको डा. पाण्डेले सुनाए ।

यदि दुवै व्यवस्था गर्न नसक्ने हो भने खोप लगाउने दिन बढाएर व्यवस्थित गर्न सकिने उनी बताउँछन् । खोप लगाउने दिन धेरै तोक्दा नागरिकहरुल आफ्नो अनुकुल समय मिलाएर खोप केन्द्र जान्छन् र अहिले देखिएको भीड स्वतः कम हुने उनको बुझाइ छ ।

संक्रामक रोग विशेषज्ञ डा. पाण्डे भन्छन्, ‘हामीसँग खोप लगाउने जनशक्तिको अभाव छैन । केवल सरकारको इच्छा शक्ति हुनुपर्‍यो । महामारीको समयमा भएको जनशक्ति परिचालन गरी खोप केन्द्र थपेर व्यवस्थित पार्न सकिन्छ ।’

तर सरकारले सीमित खोप केन्द्र तोक्ने र २/३ दिनको छोटो समय दिएर खोप लगाउन आह्वान गर्दा नागरिकहरु भीडको प्रवाह नगरी जान बाध्य भएको उनले बताए । ‘नागरिकलाई सुरक्षित रुपले खोप लगाउन खोप केन्द्र थप्नुको विकल्प छैन’ डा. पाण्डे भन्छन् ।

प्रकाशित मिति: : 2021-08-09 18:19:00

प्रतिकृया दिनुहोस्