प्रेमनारायण आचार्य
वर्षौंदेखि खोला किनारको जङ्गलमा छाप्रोमुनि बस्दै आएकी सन्धिखर्क–२ भद्रीखोलाकी लक्ष्मी वादीले नयाँ घर पाएपछि दङ्ग देखिएका छन्।
विगत ३५ वर्षदेखि जङ्गलमा छाप्रोमुनि बस्दै आएकी उनी सुविधा सम्पन्न घरमा बस्न पाएपछि औधी खुसी भएका हुन्। 'वर्षामा भेल छाप्रोभित्र पस्दा भत्किएर सधैँ दुःख पाउँथेँ' उनले भनिन्, 'अब छाप्रो जलेर खुला आकासमुनि बस्नुपर्ने बाध्यता पनि टर्ने भो।'
दिनभरि खोलामा गिट्टी र बालुवा चालेर परिवार पाल्दै आउनुभएका उहाँले लुम्बिनी प्रदेश सरकारको जनता आवास कार्यक्रमअन्तर्गत दुईकोठे घर पाएकी हुन्।
खोला किनारको जङ्गलको छाप्रोबाट उनी पक्की घरमा सर्दै छिन्। मजदुरी र बालुवा चालेर गुजारा चलाएको उनले बताइन्। 'मजदुरीको पैसाले बिहान बेलुका छाक टार्न मात्रै पुग्छ' उनले भनिन्, 'घडेरी किन्ने उपाय थिएन। खोला किनारमा बस्दा बर्खामा भेलले घर बगाइदिने, हिउँदमा डढेलोले घर जल्ने गर्दा साह्रै दुःख भएको थियो।' घडेरीसँगै नयाँ घर पाएपछि बल्ल गरिबको सरकार आएजस्तो भएको उनको भनाइ छ।
त्यस्तै बाहिरबाट बाँसको चिमले बारेर स्याउलाको छानोमुनि वर्षौंदेखि बस्दै आएकी मधु वादीले भनिन्, 'धेरै समय खुला ठाउँमा बस्यौँ। बर्खामा छाप्रोभित्र भेल पसेर ओछ्यान र कपडा निथ्रुक्क भिज्ने र अन्नपात बगाउने जस्ता समस्या थियो। नयाँ घर पाएपछि बल्ल घरधनी भएको महसुस भएको छ।' उनले नयाँ घर पाएपछि हामी औधि खुसी भएका छौँ भनिन्।
लक्ष्मी र मधु मात्रै होइन, सन्धिखर्क–२ चुत्राबँेसीमा विगत लामो समयदेखि छाप्रोमुनि बस्दै आएका वादी समुदायका ११ र दलित समुदायका दुई गरी १३ घरपरिवारले घडेरीसहित नयाँ घर पाएका छन्।
सन्धिखर्क नगरपालिकाले रु १० लाख ९९ हजार नौ सयमा भद्रीखोलामा दुई रोपनी चार आना एक दाम जग्गा खरिद गरेको र लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत सो जग्गामा रु ४३ लाख ६८ हजार खर्चेर १३ वटा घर निर्माण भएको प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरेले बताए।
लामो समयदेखि कष्टकर जीवन बिताउन बाध्य भएका वादी समुदायको समस्या हल गर्न पाउँदा आफूलाई निकै खुसी र आनन्दको अनुभूति भएको नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले बताए।
स्थानीय वडा समिति र नगरपालिकाको कार्यपालिकाको बैठकको निर्णयानुसार अत्यन्तै कष्टकर जीवन बिताएका बादी समुदायलाई घर बनाइदिने आफूहरुको चुनावी प्रतिबद्धताअनुसार उक्त घर निर्माण भएको सन्धिखर्क नगरपालिका–२ का वडाध्यक्ष मोतिजङ्ग रायमाझीले बताए। रासस