मनोज गजुरेलको नयाँ अवतार– प्रधानमन्त्री देउवादेखि बोरिस जोन्सनसम्म !

हरेक वर्ष नेपाल प्रज्ञा प्रतिष्ठानकाे आयोजना हुने गाईजात्रा यसवर्ष भने भर्चुअलरुपमा हुने भएको छ। कोभिड–१९ को कारण यस पटक गाईजात्रा भर्चुअलरुपमा मनोरञ्जन दिने उद्देश्यका साथ यतिखेर कलाकारहरू तयारीमा जुटिरहेका छन्।

हरेक वर्ष फरक–फरक भूमिकामा दर्शक हसाउन माहिर वरिष्ठ हास्यकलाकार मनोज गजुरेल यसपटक पनि फरक अवतारका साथ गाईजात्रामा दर्शक माझ आउँदै छन्। यसवर्ष हुने गाईजात्रामा ४ वटा पात्र उनले निभाउने तयारीमा छन्।

गजुरेलले प्रधानमन्त्री शेरबाहादुर देउवा, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र पूर्वशिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ चरित्र चित्रण गर्दै छन्। हरेक गाईजात्रे कार्यक्रममा मनोज गजुरेलले कुनै न कुनै नयाँ कोसेली ल्याउने गरेका छन्।

गजुरेल हरेक वर्ष नयाँ–नयाँ राजा महाराजा, नेता–मन्त्रीको परित्र दुरुस्तै प्रस्तुत हुने गर्छन्। कहिले नरेन्द्र मोदी भएर त कहिले लालबाबु पण्डित बनेर हाेस्, कहिले डोनाल्ड ट्रम्प भएर त कहिले केपी शर्मा ओली बनेर पनि उनले हास्य प्रस्तुति दिइसकेका छन्। उनले यस पटक जोन्सन र देउवाको भिडियाे कल तथा दुई मुलुकबिचको राजनीतिलाई तुलना गरेर व्यंग्य गर्ने बताएका छन्।

त्यस्तै, धमलाको हमला व्यंग्यमार्फत पुटिन र देउवाको खोप संवाद प्रस्तुत गर्दै छन्। कार्यकालमा चर्चामा आएका पूर्व शिक्षामन्त्री श्रेष्ठबारे पनि उनले व्यंग्य गर्नेछन्।

हाँस्य व्यंग्य कलाकारहरू शैलेन्द्र सिंखडा, चट्याङ मास्टर, राजा राजेन्द्र, हिमेश पन्त, प्रभात लामा, शुबोध गौतमलगायतले यसपालिको गाईजात्रा कार्यक्रममा आफ्नो प्रस्तुति दिँदै छन्। साथै प्यारोडी गीतमार्फत पनि व्यंग्य हुने बताइएको छ। जसमा पशुपति शर्मा, यमन श्रेष्ठ र किरण केसीले व्यंग्य गीत प्रस्तुत गर्नेछन्। कार्यक्रम भदौ १ गतेदेखि ७ गतेसम्म एपीवान टिभी र गजुरियल युट्युब च्यानलमार्फत हेर्न सकिने छ।

प्रकाशित मिति: : 2021-08-12 13:20:00

प्रतिकृया दिनुहोस्