फिल्म चलोस् या नचलोस् नेपाली निर्माता, निर्देशक फिल्मको सिक्वेल बनाउने होडबाजीमा लागेका छन्। अझ पछिल्लो समय नेपाली फिल्मदेखि म्युजिक भिडियो, गीतको सिक्वेल बनाउने ट्रेन्ड नै चलेको छ।
कुरा गरौँ अर्को सिक्वेलको घेरामा परेको फिल्म 'मिस्टर डन-२'। यो फिल्मको पनि सिक्वेल बन्ने भएको छ। २०६३ सालमा रिलिज भएको अभिनेता द्वय शिव श्रेष्ठ र निखिल उप्रेती अभिनीत फिल्म ‘मिस्टर डन’ को सिक्वेल ‘डन-२’ निर्माण हुन लागेको हो।
फिल्मलाई दिनेश पाख्रिनले निर्देशन गर्ने भएका छन् भने फिल्मको कथा पनि उनकै रहेको छ। फिल्म एक्सन जनरामा निर्माण हुनेछ।
दिनेश थापा प्रस्तुतकर्ता रहेको फिल्मको निर्माता निर्मल लामा, विक्रम तामाङ र हेलेन पाख्रिन रहेका छन्। हाल फिल्मको लागि कलाकारहरूसँग कुराकानी भइरहेको छ। तर, यस फिल्ममा को कलाकार हुन्छन् भनेर चाहीँ निर्माण टिमले खुलाएको छैन।
बुझिए अनुसार फिल्ममा अहिलेका एक स्टार र अघिल्लो पुस्ताका एक स्टारको अभिनय रहनेछ। मदन घिमिरे निर्देशित ‘मिस्टर डन’मा त्यसबेला चर्चित कलाकार सञ्चिता लुइँटेल, विक्रान्त बस्नेत, जेनी कुँवरको पनि अभिनय रहेको थियो।
अझै फिल्मको धेरै काम गर्न बाँकी रहेता पनि फिल्मको गीत भने तयार भइसकेको छ। फिल्मका गीतमा विकास चौधरी र हरि उप्रेतीको संगीत रहेको छ।