पोखरा महानगरपालिकाको भगिनी सम्बन्ध रहेको चीनको नानिङ शहरले रु २० लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ।
पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एशोसिएशनको समन्वयमा ल्याइएको उक्त सामग्रीलाई आज महानगरपालिका परिसरमा परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले उपप्रमुख मञ्जुदेवी गुरुङलाई हस्तान्तरण गरे।
उपप्रमुख गुरुङले महानगरपालिकाले १३ अन्तर्राष्ट्रिय सम्बन्धमध्ये नौ चीनका विभिन्न शहरसँग भएको जानकारी दिए। विसं २०७४ पुस २६ गते महानगरपालिका र चीनको नानिङ शहरबीच भगिनी सम्बन्ध रहेको जनाउँदै उनले प्राप्त सामग्रीले महामारी रोकथाम र नियन्त्रणमा निकै सहयोग पुग्ने विश्वास व्यक्त गरे।
उनले नानिङ शहरका प्रमुखलाई धन्यावाद पत्र पठाउँदै कोरोना सहज भएपछि पोखरा भम्रणको आमन्त्रण गरिने बताए। महामारी नियन्त्रणमा सबैको साथ र सहयोग आवश्यक रहेको जनाउँदै उहाँले प्राप्त सामग्रीलाई आवश्यकताका आधारमा अस्पताललाई वितरण गर्ने जानकारी दिए।
परिषद्का अध्यक्ष भट्टराईले उक्त शहर चीनको नमूना शहर भएको जनाउँदै भगिनी सम्बन्ध स्थापित शहरको साथ र सहयोगले आगामी दिनमा पर्यटन प्रवद्र्धनमासमेत सहयोग पुग्ने विश्वास व्यक्त गरे।
उनका अनुसार स्वास्थ्य सामग्री अन्तर्गत पाँच अक्सिजन कन्सन्टेटर मेसिन, मेडिकल मास्क २० हजार थान, पिपिइ सेट ५०० थान, मेडिकल पञ्जा पाँच हजार प्राप्त भएको छ।
रेवानका उपाध्यक्ष नरेश भट्टराईले चीनका विभिन्न शहरसँग भएको भगिनी सम्बन्धले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाएको जनाउँदै कोराना रोकथाम र नियन्त्रणमा प्राप्त स्वास्थ्य सामग्रीले उपचारमा सहज हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा चाइना ओभरसिज एशोसियशनका अध्यक्ष चाङ र सचिव साङसावो (सन्देश), महानगरपालिकाका विभिन्न वडाका वडाध्यक्षको सहभागितो थियो।