बाढीले जोखिममा परेको झोलुङ्गे पुलको संरक्षण गरिँदै

बिएल संवाददाता

सिन्धुपाल्चोक
File photo
File photo

गत असार १ र साउन मध्यतिर मेलम्ची खोलामा आएको भीषण बाढीका कारण क्षति पुगेका भौतिक संरचना संरक्षण तथा पुनःनिर्माण अघि बढ्ने क्रममा रहेका छन्।

यसै क्रममा हेलम्बु गाउँपालिका–४ र मेलम्ची नगरपालिका– ७ जोड्ने झोलुङ्गे पुलको संरक्षण कार्य अघि बढेको छ। 

गत असार १ गतेकै बाढीले क्षति पु¥याएको उक्त झोलुङ्गे पुलको संरक्षणका लागि हेलम्बु–४ बाट रकम निकासा गरिने वडाध्यक्ष राजकुमार लामिछानेले बताए।

तत्कालका लागि प्राविधिक टोलीसहित पुलको अवस्था निरीक्षण गरी १७ थान जाली उपलब्ध गराइएको र कामदार खटाइसकेको लामिछानेले जानकारी दिए। 

पानीको बहाव बढ्ने र घट्ने भइरहेकाले तत्काललाई सिमेन्टको प्रयोग गर्न नसकिने भएकाले जाली भर्ने कार्य भइरहेको र कार्य सम्पन्न भएपछि वडाले लागत रकम निकासा गर्ने उनले बताए। 

उक्त झोलुङ्ग पुल भएर हेलम्बुका वडा नं ४ सहित वडा नं ३ तथा मेलम्चीका वडा नं ६ र ७ का बासिन्दा दैनिक आवतजावत गर्ने गर्दछन्। यसै क्रममा मेलम्ची–६ मा रहेको तेर्से माविले पुल संरक्षणका लागि चार बोरा सिमेन्ट सहयोग गरेको छ। 

हेलम्बु–३ र मेलम्ची–७ बाट आफ्ना विद्यार्थी सोही पुल भएर विद्यालय आउने भएकाले स्वयम् बाढीबाट क्षति व्यहोरेकाले आफ्ना तर्फबाट तत्काललाई सिमेन्ट सहयोग गरेको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद ढुङ्गानाले बताए।

मेलम्ची–११ फट्टेमा रहेको पक्की पुल बाढीले बगाएको र झोलुङ्गे पुलबाट पनि दुई पाङ्ग्रे सवारीलाई रोक लगाइएपछि पनि सवारीसाधन आवतजावत गर्न थालेपछि जोखिम बढेकोमा चिन्तित रहेको र अहिले यसको संरक्षणकार्य अघि बढेकाले ढुक्क हुने अवस्था बनेको मेलम्ची–७ का बासिन्दा चक्रबहादुर तामाङले बताए।

प्रकाशित मिति: : 2021-08-16 14:20:00

प्रतिकृया दिनुहोस्