निर्णायक मोडमा एमाले

अनलाइनखबर

काठमाडौं

सोमबार मध्यरात हुनै लाग्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई पन्ने वक्तव्य जारी गरी पार्टी एकताको पक्षमा उभिन आह्वान गरेका छन् । ‘पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका माननीय सदस्यहरुलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासहरु विरुद्ध दृढताका साथ उभिन हार्दिक अपील गर्दछु’, राति एघार बज्नै लाग्दा जारी वक्तव्यमा उल्लेख छ ।

प्रतिनिधिसभाको चालु अधिवेशन हठात् अन्त्य गरेर राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने र एमाले विभाजन गर्ने षडयन्त्र भइरहेको सन्देश पनि ओलीले दिएका छन् ।

वक्तव्य जारी गर्नुअघि ओलीले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई स्थायी कमिटी बैठक र प्रमुख सचेतक विशाल भट्टराईलाई संसदीय दलको बैठक बस्नेबारे सूचना पठाउन निर्देशन दिएका थिए । स्थायी कमिटी बैठक मंगलबार बिहान ११ बजे र संसदीय दलको बैठक दिउँसो दुई बजे बोलाइएको छ ।

प्रकाशित मिति: : 2021-08-17 07:58:00

प्रतिकृया दिनुहोस्