एकीकृत समाजवादीका अध्यक्षमा नेपाल, महासचिवमा विरोध खतिवडा वा राजेन्द्र पाण्डेमध्ये संभावना

विरोध खतिवडा र राजेन्द्रप्रसाद पाण्डे
विरोध खतिवडा र राजेन्द्रप्रसाद पाण्डे

बहुपदीय प्रणालीमा जाने निर्णय गरिसकेको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को महासचिवमा विरोध खतिवडा वा राजेन्द्रप्रसाद पाण्डेमध्ये एक जना हुने संभावना रहेको छ।

निर्वाचन आयोगलाई बुझाएको नाममा अध्यक्षमा माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालको मात्र नाम बुझाएको भए पनि सबै प्रदेशको प्रतिनिधित्व हुने गरी पदाधिकारी बनाएर अघि बढ्ने तयारी भइरहेको बैठकमा सहभागी एक नेताले टेलिफोनमा जानकारी दिए।

चन्द्रागिरि रिसोर्टमा जारी उक्त समूहको बैठकले १७ जना पदाधिकारी पनि चयन गर्नेबारे छलफल गरिरहेको छ। ‘महासचिवमा विरोध खतिवडा वा राजेन्द्र पाण्डेमध्ये एक हुने संभावना छ। दुई जनामध्ये महासचिव नहुने नेता चाहिँ उपाध्यक्ष हुनुहुनेछ।’

खतिवडा र पाण्डे दुवै समकालीन नेता हुन्। खतिवडा ०४३ सालमा मकवानपुर जिल्लाबाट राष्ट्रिय पञ्चायतमा जनपक्षीय उम्मेद्वारको रुपमा चुनाव लडी थोरै मतान्तरले पराजित भएका थिए। पाण्डे चाहिँ ०४४ सालको पञ्चायतको स्थानीय चुनावमा धादिङ जिल्ला पञ्चायतको सभापति चुनिएका थिए।

खचिवडा ०४८ सालदेखि ०७४ सालसम्म चार पटक मकवानपुर जिल्लाबाट प्रतिनिधिसभा चुनाव लडे र सधैँ विजयी भए। पाण्डे चाहिँ धादिङबाट एक पटक पराजित भएका थिए। पाण्डे पूर्वमन्त्री हुन् तर खतिवडालाई ०४८ देखि ०७४ सालसम्म बीचको एकदशक (०६४–०७४) बाहेक सधैँ सांसद् हुँदा पनि मन्त्री बन्ने अवसर प्राप्त भएन। पाण्डे अहिले वागमती प्रदेशसभा सदस्य हुन् भने खतिवडा प्रतिनिधिसभा सदस्य हुन्।

प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीले १७ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरिसकेको छ। चन्द्रगिरीमा जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत विधानअनुसार अध्यक्ष, सात उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव, ७ सचिव गरी १७ पदाधिकारी हुनेछन्। उनीहरुसहित ११५ पूर्ण र ३६ जना वैकल्पिक केन्द्रीय सदस्य हुने छन्।

एकीकृत समाजवादीको संभावित पदाधिकारीहरुमा बेदुराम भुसाल, मुकुन्द न्यौपाने, विजय पौडेल, गंगालाल तुलाधर, प्रकाश ज्वाला, केदार न्यौपाने, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, भवानी खापुङ, नागेन्द्र चौधरी, मेटमणि चौधरी, प्रेम आले लगायत रहेका छन्। सोमप्रसाद पाण्डे नेपाल समूहमा गएमा उनी पनि उपाध्यक्ष बन्ने संभावना रहेको चन्द्रगिरीबाट एक नेताले बताए।

प्रकाशित मिति: : 2021-08-24 13:27:00

प्रतिकृया दिनुहोस्