योगेश भट्टराई भन्छन् : चन्द्रागिरी होइन, तुल्सीलाल प्रतिष्ठान जान्छौँ

File photo
File photo

नेकपा एमालेका नेता योगेश भट्टराईले माधवकुमार नेपालले राखेको बैठकमा आफूहरु सहभागी नहुने बताएका छन्। 

एमालेबाट अलग्गिएर नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि प्रक्रिया थालेका नेपाल समूहको बैठक काठमाडौंको चन्द्रागिरीमा चलिरहेको छ। पार्टी एकताको पक्षमा रहेको बताउने भट्टराईसहितका नेताहरु भने नेपाल समूहले राखेको बैठकमा सहभागी नहुने भएका हुन्। 

‘हामी चन्द्रागिरी जाँदैनौँ’, भट्टराईले भने, ‘तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानमा बस्ने बैठकमा सहभागी हुन्छौँ।’

तुल्सीलाल प्रतिष्ठानमा एमालेको स्थायी कमिटी बैठक बस्दैछ। बिहान ११ बजेका लागि बोलाइएको सो बैठक अपरान्ह ३ बजेसम्मका लागि सारिएको छ। 

लामो समय नेपाल समूहमा रहेका भीम रावल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल, रघुजी पन्त, अमृत बोहरा, भीम आचार्य र अष्टलक्ष्मी शाक्य तटस्थ रहँदै आएका छन्। उनीहरुले गत २७ असारमा भएको १० बुँदे सहमति कार्यान्वयन गर्न अध्यक्ष ओलीसामु दबाब सृजना गरेका छन्।

सोही विषयमा मंगलबार बस्न लागेको स्थायी कमिटी बैठकमा छलफल हुने योगेश भट्टराईले जानकारी दिए।

प्रकाशित मिति: : 2021-08-24 14:54:00

प्रतिकृया दिनुहोस्