दृश्यावलोकन स्तम्भ (भ्यूटावर) निर्माणको काम निर्धारित समयमा पूरा नहँदा बसपार्क व्यवस्थापनमा समस्या भएको छ।
साविकको बसपार्कलाई अन्यत्र स्थानान्तरण गरी विसं २०७३ साउनबाट निर्माण सुरु गरिएको उक्त टावरको काम अहिले कछुवा गतिमा भइरहेको छ।
निर्माण सुरु गरिएको पाँच वर्षमा सक्ने गरी थालिएको उक्त काम हालसम्ममा ३५ प्रतिशत मात्र सकिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ। निर्माण कम्पनीले समयमै काम सम्पन्न गर्न नसक्दा बसपार्क कहाँबाट सञ्चालन गर्ने भनेर अन्योल थप चुलिएको छ।
टावर निर्माण भइरहेको स्थानबाट सञ्चालन भएको बसर्पाक खुलामञ्चमा सारिएको थियो। गत वैशाख १६ गतेदेखि उक्त स्थानबाट पनि बसपार्क हटाइएको छ। यातायात व्यवसायीले भने आफूहरुले साविकको स्थानबाटै बसपार्क सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै आएका छन्।
महानगरपालिकाले उपप्रमुख हरिप्रभा खड्गीको संयोजकत्वमा गठित समितिले तत्कालका लागि कामपा भएर चल्ने लामो दूरीको सार्वजनिक सवारी साधन सल्लाघारीबाट सञ्चालन गर्न सुझाएको छ।
महानगरपालिकाको निजी साझेदारी एकाइका प्रमुख नुरनिधि न्यौपानेका अनुसार कामपाले निर्माणको जिम्मा दिन्न भन्ने अवस्था पनि छैन, जेनतेन काम गरिरहेको छ। सम्झौता भएअनुसार काम हुने हो भने अहिले कम्तीमा पनि ७५ प्रतिशत काम सकिसक्नुपर्ने हो, त्यो अवस्था भने छैन।
निर्माणको कामअन्तर्गत अहिले पाँचौँ तलाको काम भइरहेको छ। समग्रमा ३५ प्रतिशतभन्दा बढी काम भएको छैन।
स्तम्भ निर्माणका लागि महानगरपालिका तथा जलेश्वर, स्वच्छन्द र बिकोइ कम्पनीबीच २०७१ साल फागुन २२ गते सम्झौता गरिएको थियो। सम्झौतानुसार पाँच वर्षभित्र ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउन पाउनेछन्।
“भूकम्पपछि निर्माणसम्बन्धी फरक निर्णय हुँदा केही समय काम गर्ने वातावरण थिएन, पछि काम गर्ने वातावरण हुँदा पनि तीव्ररूपमा काम भएको पाइँदैन, अर्को कम्पनीलाई दिइहाल्ने अवस्था पनि छैन, कम्पनीले कामपालाई सुरुको समयदेखि नियमितरूपमा बुझाउनुपर्ने सम्झौताअनुरुपको कर दिइरहेको छ”, न्यौपानेले भने।