उत्खनन् गर्दा पुरातत्वविद्ले जब अंगालोमा बेरिएको अस्थिपञ्जर देखे...

चीनका पुरातत्वविद्हरुले पन्ध्र सय वर्षअगाडि पुरुष र महिलालाई एउटै चिहानमा गाडेको अस्थिपञ्जर फेला पारेका छन्। दुबै जनाको अस्थिपञ्जर अंगालोमा बेरिएको अवस्थामा देखिन्छ।

मृत्यु हुने बेला पुरुष २९ देखि ३५ वर्ष भएको र उनको पाखुरा भाँच्चिएको, दाँया हातको चोर औला नभएको पुरातत्वविदहरुले अनुमान गरेका छन्।

त्यस्तै, मृत्यु हुनेबेलामा महिलाको उमेर अन्दाजी ३५ देखि ४० वर्षसम्मको हुन सक्ने र उनले बायाँ हातमा औँठी लगाएको अनुमान गरिएको छ। चीनको सान्सी प्रान्तमा माटो खन्ने क्रममा उनीहरुको संयुक्त चिहान देखिएको हो।

महिला र पुरुषको एउटै चिहानमा कसरी अन्त्येष्टि भयो भन्ने बारेमा प्रष्ट हुन सकेको छैन्। आफ्ना मृत श्रीमानको पीडाले महिलाले पनि देह त्याग गरेको हुन सक्ने अनुमान गरिएको छ।

यस्तो चिहान चिनियाँ इतिहासमै पहिलो पटक भेटिएको बताइएको छ। चिहानले चीनको नर्थ वी वंशले शासन गरेको समय (३८६–५३४ एडी) मा प्रेम र त्यागलाई प्रतिनिधित्व गर्ने जनाइएको छ।

चिहानको तस्बिरले ‘पहिलो सहश्राब्दीको समयमा चिनियाँ संस्कृतिको स्वतन्त्र अभिव्यक्ति र प्रेमको सक्रिय खोजी’ लाई उजागर गरेको अनुसन्धानकर्ताले बताएका छन्।

‘अन्तिम संस्कारको अभ्यास पश्चिमा संस्कृतिबाट प्रभावित भएको हुन सक्छ’ अनुसन्धानकर्ताहरुले भनेका छन्। चिहानमा मानिसको मायाको आवेगको अनौठो प्रदर्शन झल्किएको छ।

चिहानको अस्थिपञ्जरले उत्तरी चीनमा त्यतिबेला प्रेमप्रति मानिसको धारणाको दुर्लभ दृष्टिकोणलाई प्रतिबिम्ब गरेको छ। चिहान नजिक केही माटाका सामग्री पनि फेला परेका थिए।एजेन्सी

प्रकाशित मिति: : 2021-08-25 17:50:00

प्रतिकृया दिनुहोस्