लुम्बिनीमा माधव नेपालकाे नयाँ पार्टी थप कमजोर

फाेटाेः रासस
फाेटाेः रासस

दोस्रो तहका नेतासमेत नेकपा एमालेमै फर्किएपछि माधव नेपालको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) लुम्बिनीमा थप कमजोर भएको छ।

जनाधार भएका नेता युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण विष्टले एमालेमै रहने निधाे गरेपछि समाजवादीलाई घाटा हुने भएको हो।  यद्यपि नेपाल पक्षमा खुलेका धेरैजसो नेता नयाँ पार्टीमै रहेने दाबी गरिएको छ।

अन्तरसंघर्षकै बेला रुपन्देही एमालेमा समानान्तर कमिटी गठन भएको थियो। समानान्तर कमिटीका अध्यक्ष तथा समाजवादी पार्टीमा खुलेका राजु गुरुङले नयाँ पार्टी कमजोर नरहेको दाबी गरे। उनले दोस्रो पुस्ताका नेता घनश्याम भुसालका कारण केही कार्यकर्तामा असर पर्ने भए पनि त्यतिधेरै समस्या नहुने बताए।

लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सात केन्द्रीय नेताले नयाँ पार्टीमा सनाखत गरेका छन्। नेता सोमप्रसाद पाण्डेले सनाखत गरेपनि प्रमाणित भने भइसकेको छैन।

सनाखत गर्नेमा नेता मेटमणि चौधरी, डा. विजयकुमार पौडेल, रामकुमारी झाक्री, भागवत नेपाली र प्रमेशकुमार हमाल छन्।

गुल्मीमा गोकर्ण विष्टका कारण धेरै नेता एमालेमै अडिन सक्ने अनुमान गरिएको छ। पाल्पाका सोमप्रसाद पाण्डे अन्तिममा नेपालको नयाँ पार्टीमा खुलेकाले नेपाल पक्षमा केही नेता बस्ने आँकलन गरिएको छ।

प्रकाशित मिति: : 2021-08-26 08:50:00

प्रतिकृया दिनुहोस्