आधुनिकता बढेसँगै नेपालमा स्तनपान गराउनेको सङ्ख्या घट्यो

रातोपाटी

माया श्रेष्ठ

नेपालमा स्तनपान गराउने दर घट्दै गएको पाइएको छ। महिलाको साक्षरता दर बढ्दै गए पनि पछिल्लो समय स्तनपान गराउनेको सङ्ख्या कम हुँदै गएको हो। बालबालिकाको शारीरिक तथा मानसिक पूर्ण विकासका लागि अनिवार्य रूपमा निश्चित समयसम्म निरन्तर स्तनपान गराउनुपर्ने पोषणविद्हरूको भनाइ छ।

तर, हिजोआज धेरै आमाले बच्चालाई स्तनपानको साटो बट्टावाला दूधमा जोड दिएको पाइन्छ। नेपालमा साक्षरता दर बढ्दै गए पनि स्तनपान गराउने आमाको सङ्ख्या क्रमशः घट्दै गएको परिवार कल्याण महाशाखाअन्तर्गत पोषण शाखा प्रमुख केदारराज पराजुली बताउँछन्।

करिब २० वर्षअगाडि नेपालमा ८८ प्रतिशत आमाले आफ्ना सन्तानलाई स्तनपान गराएको पाइएको थियो भने अहिले त्यो सङ्ख्या घटेर ४२ प्रतिशतमा झरेको छ। सन् २०१६ मा शिशु जन्मने बित्तिकै ६६ प्रतिशतले स्तनपान गराउँथे भने हाल यो सङ्ख्यामा तीव्र रूपमा कमी आउन थालेको छ।

सुत्केरी आमाबाट आउने बिगौते दूध बच्चाका लागि पहिलो महत्त्वपूर्ण खोप भएको पोषण शाखाका प्रमुख पराजुली बताउँछन्। तर, नेपालमा शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको सङ्ख्या घट्दै जानु राम्रो सङ्केत नभएको उनले सुनाए।

प्रकाशित मिति: : 2021-08-26 11:41:00

प्रतिकृया दिनुहोस्