माधव नेपालले अष्टलक्ष्मीलाई भने, ‘एमाले त्यागेर एकीकृत समाजवादीमा नआए मुख्यमन्त्रीमा समर्थन दिँदैनौँ’

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बागमती प्रदेशमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई एमाले त्यागेर आफ्नो पार्टीमा नआएमा मुख्यमन्त्रीबाट हटाउने चेतावनी दिएका छन्।

प्रदेशसभा संसदीय दल फुटाउनुभन्दा अघिल्लो दिन सोमबार टेलिफोन गरेर शाक्यलाई एमाले त्याग्न दबाब दिएका थिए।

एकीकृत समाजवादीसंवद्ध उच्च स्रोतका अनुसार, नेपालले अष्टलक्ष्मी शाक्यसँग अत्यन्त सहानुभूति दर्शाएर कुराकानी गरेका थिए।

‘तपाईं एमाले त्यागेर आउनुहुन्छ भने मुख्यमन्त्री निरन्तर हुन्छ नत्र तपाईंलाई समर्थन गर्न सकिँदैन’, नेपालले भनेका थिए, ‘तपाईं हाम्रो पार्टीमा रहनुहुन्छ भनेर मात्र तपाईंलाई बनाउन भनेको थिएँ, केपी ओली पक्षमा जानुभएपछि अर्कैलाई मुख्यमन्त्री बनाउनुपर्ने बाध्यता हुन्छ।’

मुख्यमन्त्री शाक्यले भने आफू एमाले त्यागेर एकीकृत समाजवादीमा आउन नसक्ने जवाफ दिँदै नेपालले नै मुख्यमन्त्री बनाएकाले समर्थन जारी राख्न आग्रह गरेकी थिइन्।

‘मैले भर्खरै एमालेमा बस्ने निर्णय गरेँ। स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा पनि भाग लिएँ’, अष्टलक्ष्मीको भनाइ थियो, ‘फेरि एमाले छाडेर तपाईंको पार्टीमा आउन मिल्दैन। त्यसो गर्नु राम्रो पनि हुँदैन। मेरो असहमति केपी ओलीसँग मात्र हो, एमालेमा होइन।’

प्रकाशित मिति: : 2021-09-01 12:29:00

प्रतिकृया दिनुहोस्