महेश रेग्मीको दाबी– अझै तीन जना सांसद् एमाले छाडेर एकीकृत समाजवादीमा आउँछन्

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य महेश रेग्मीले प्रदेश १ मा एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) मा अझैं तीन जना प्रदेशसभा सदस्य थपिने बताएका छन्।

निर्वाचन आयोगमा बुधबारै कम्तिमा १० जना प्रदेश–सांसदले एकीकृत समाजवादीमा सनाखत गर्ने रेग्मीले बताए। उनले भने, ‘१० जना त चट्टान नै हो, कतै जानुहुन्न। अझै तीन जना माननीय हामीसँग आँउदै हुनुन्छ।’

यसअघि एमालेको नेपाल समूहमा लागेका १८ जनामध्ये कम्तिमा १० जनाले एकीकृत समाजवादी रोज्दै सनाखत गर्ने तयारी गरेको उनको दाबी छ।

दल विभाजन अध्यादेशअनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र दल रोज्ने समयसीमा छ। त्यहीँअनुसार निर्वाचन आयोगले २२ भदौसम्म एमाले वा समाजवादीमध्ये एक दल छानिसक्नुपर्ने छ।

प्रदेश १ मा हालसम्म १० जना सांसद समाजवादीतिर खुलेका छन्। प्रदेश सांसदहरू राजेन्द्रकुमार राई, खिनु लङ्बा, सावित्रीकुमारी रेग्मी, राजन राई, कृष्णकुमारी राई, गणेशकुमार काम्बाङ, सुनिताकुमारी चौधरी, सरिता थापा, उपेन्द्र घिमिरे र पदमकुमारी गुरुङले आज सनाखत गर्दै छन्।

निर्वाचन आयोगमा बुधवार हुने सनाखतको संख्याले प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यको सत्ताको भविष्य पनि निर्धारण गर्नेछ।

प्रकाशित मिति: : 2021-09-01 12:59:00

प्रतिकृया दिनुहोस्