डोल्पा पुगेर विष्णु रिजालले पहिले ओलीलाई गरेजस्तै गाली माधव नेपाललाई गरेपछि...

एमाले केन्द्रीय सदस्य विष्णु रिजालले शुक्रबार डोल्पाको दुनै पुगेर पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा गठित नेकपा (एकीकृत समाजवादी) पार्टीको लामो आयु नभएको बताएका छन्। उनले नेकपा (एस) चाँडै विलय भएर जानेसमेत जिकीर गरेका छन्।

रिजाल केही समयअघिसम्म माधव नेपाल समूहमै थिए। उनी माधव नेपालले नै ग्रुम गरेर माथि चढाएका एक जना केन्द्रीय सदस्य हुन्। एमाले र माओवादी एकता हुने बेलामा उनलाई नेपालले नै केन्द्रीय सदस्यको सूचीमा चढाएको विश्वास एमाले वृत्तमा छ।

गत चैत ३–४ गते माधव नेपाल समूहकाे भेलामा सबैभन्दा अग्रभागमा उभिएर एमाले अध्यक्ष ओलीलाई गाली गर्नेमध्ये एक हुन रिजाल । त्यस बेला एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सार्वजनिक रुपमा गारी गर्थे जसका भिडियोहरु अहिले पनि सामाजिक सञ्जालमा बजिरहेका छन्।

अहिले उनी फेरि ओली पक्षमा लागेर उनै नेपाललाई गाली गर्न थालेका छन्, जसले उनलाई प्रधानमन्त्रीको प्रेस सल्लाहकार मात्र होइन, पार्टी विदेश विभागको उपप्रमुखसमेत बनाएर सबैलाई चकित बनाएका थिए। नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) निर्माणअघि नै उनले क्याम्प फेरेर ओली क्याम्पमा लागेका थिए । 

एमाले जिल्ला कमिटी डोल्पाले भदौ २१ गते आयोजना गर्न लागेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न डोल्पा पुगेका नेता रिजालले पत्रकारसँग कुराकानी गर्दै नेपालको पार्टीको भविष्य नभएकाे बताएका हुन्।

पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, 'पार्टी फुटाएर अलग भएका माधव नेपालसहितका १४ सांसदलाई कारवाही माग गर्दै सर्वोच्च अदालतमा मुद्धा परेको छ। न्यायालयले उनीहरुको सांसद पद खारेज गर्ने विश्वास छ।'

एमालेको विदेश विभाग उपप्रमुखसमेत रहेका रिजालले मूल पार्टी नेकपा (एमाले)नै भएकाले देशभरका सम्पुर्ण नेता तथा कार्यकर्तालाई नीति सिद्धान्तमा अडिक भएर लाग्न आग्रह गरे।

अध्यक्ष केपी शर्मा ओली र एमालेकै तत्कालिन वरिष्ठ माधव नेपाल पक्ष गरेर दुई भागमा विभाजित भएका नेताहरुमध्ये नेता रिजाल एउटा त्यस्ता पात्र हुन्, जसले पार्टी अध्यक्ष ओलीको चर्को आलोचनासहित विरोध गर्दै हिँड्थे।

ओली अविश्वस्नीय र अविवेकी भनेर गाली गरेका उनका भिडियो अहिले पनि बजिरहेका छन्। रिजालको विगतकाे भिडियो सुनेका डोल्पाका एमाले कार्यकर्ता र सञ्चारकर्मी अहिले नेपाललाई त्यस्तै गाली गरेको सुन्दा चकित परेका थिए।

प्रकाशित मिति: : 2021-09-03 17:31:00

प्रतिकृया दिनुहोस्