ब्लगरको डायरी : घातक भाइरसहरुको कथा

पहिलोपोष्ट

काठमाडौँ

चौध वर्ष अगाडि २०६४ जेठ २८ मा एउटा कथा लेखेको थिएँ - ‘सिक्रेट अफ सम इन्टेलिजेण्ट भाइरसेस’। अर्थात्, केही मेधावी भाइरसको रहस्य! त्यसलाई मैले आफ्नो तत्कालीन ब्लग- ‘अवचेतन डट कम’मा प्रकाशित गरेको थिएँ। नेपाली मिडियाहरु यस्ता कुरा बुझ्दैन थिए। सामग्री प्रकाशनको त कुरै बेग्लै!

त्यतिबेला म भने ‘न्युजपेपर मनोटनी’बाट निस्किएर मनलाग्दी ब्लग लेख्थेँ, त्यो पनि अंग्रेजीमा। अंग्रेजी सिक्न नखोज्ने को होला र? तर, मैले सडकमा सिकेको हुँ, अंग्रेजी। स्कूल र कलेजमा के सिकियो अंग्रेजी, थाहा भएन!

त्यतिबेला नेपाली भाषामा कसले पढ्थे र ब्लग? पढे पनि नेपाली भाषामा ब्लग लेख्नेहरुलाई दिउँसै बत्ती बालेर खोज्नुपर्ने अवस्था थियो।

दुई वर्ष अगाडि चीनको बुहानबाट फैलिएर आज संसार कब्जा गर्न सफल ‘कोरोना भाइरस’ यो मेरो पुरानो ‘भाइरस कथा’ भन्दा निकै कान्छो हो। कोरोना आउनु अगाडि अरु कैयौँ भाइरसहरुले धर्तीमा उधूम मच्चाइसकेका मनग्ये उदाहरण भेटिन्छन्।

कथा सुरु यसरी भएको थियो : अल कायदाको आगामी योजना -

पहिलो कार्ययोजना अनुसार इन्टरनेटमार्फत् ‘ऋणात्मक न्यूरोबोलिक भाइरस’ निम्न शक्तिशाली अमेरिकी संस्थाहरुमा पठाउने :

क) ह्वाइट हाउस

ख) सीआईए केन्द्रीय कार्यालय

ग) एफबीआइ हेडक्वाटर

जासुसी कार्यक्रमयुक्त उक्त ‘ऋणात्मक न्यूरोबोलिक भाइरस’ अल कायदाको लागि काम गर्ने एक पश्चिमा वैज्ञानिकले निर्माण गरेका हुन्। ‘ऋणात्मक न्यूरोबोलिक भाइरस’लाई संसारका कुनै पनि ‘एन्टिभाइरस’ वा उच्चकोटिको प्रविधिले पनि पत्ता लगाउन सक्दैन। अदृश्य हुनुका साथै यो अति नै अज्ञात रहन सक्छ। जहाँ पठाइएको हो, त्यहाँ चुपचाप बसेर यसले अनेक रहस्यमय र खतरनाक कार्य गर्दछ। जस्तो, यो भाइरसले पठाइएको कुनै पनि कम्प्युटरमा गुप्तरुपमा बसेर सूचनाहरु संग्रह गर्दछ र अल कायदालाई पठाउँछ। यो भाइरसले संसारका कुनै पनि दुई वा दुईभन्दा बढी कम्प्युटरहरुलाई अल कायदाका लागि नेटवर्क पनि गर्नसक्छ। जस्तै, यो भाइरस पठाइएको ह्वाइट हाउसका कम्प्युटर खुल्दा त्यहाँको तथ्यांक र सूचनाहरु अल कायदाले आफ्नो ‘मास्टर कम्प्युटर’मा हेर्न र हेरफेरसमेत गर्नसक्छ।

दोस्रो कार्ययोजना अनुसार ‘ऋणात्मक न्यूरोबोलिक भाइरस’लाई विभिन्न अमेरिकी कार्यालयका कम्प्युटरमा पठाइसकेपछि विशेष तरिकाले ‘ऋणात्मक जाइरोसिन्ट्रमेनन’ नामक अर्को एउटा अति सुक्ष्म भाइरस पनि त्यहाँ पठाइने छ। पछिल्लो भाइरस गएर ‘ऋणात्मक न्यूरोबोलिक भाइरस’सँग मिलेर बस्दछ र बिल्कुलै नयाँ कार्य सम्पादनमा लाग्दछ। त्यसरी मिलेपछि अब यो ‘जाइरोन’ बन्दछ। ‘जाइरोन’ले चमत्कारिक रुपमा काम गर्दछ। जस्तो, कम्प्युटर चलाइरहेको व्यक्तिको आँखामा यसले फाल हालेर त्यहाँ डेरा जमाउन सक्छ। यो भाइरस आफैँमा शक्तिशाली क्यामेरा र माइक्रोफोन पनि हो।

उदाहरणका लागि, यदि यस भाइरसले जर्ज बुशलाई संक्रमण गर्‍यो भने, उनले देखेका र सुनेका कुराहरुलाई अल कायदाले टाढैबाट हेर्न, सुन्न र अभिलेख राख्नसमेत सक्छ। अर्कातिर अल कायदाका ‘मास्टर कम्प्युटर’ले टाढैबाट ‘जाइरोन’लाई आफ्नो इच्छा र योजना मुताविक नियन्त्रण गर्न सक्छ।

प्रकाशित मिति: : 2021-09-04 15:56:00

प्रतिकृया दिनुहोस्