अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–५ को वडा कार्यालयमा स्थानीय युवाले तालाबन्दी गरेका छन्। वडाध्यक्षले बजेट विनियोजनमा मनोमानी गरेपछि स्थानीय युवाले आइतबार बिहान तालाबन्दी गरेका हुन्।
सर्वसम्मत रुपमा विनियोजित बजेटलाई बेवास्ता गर्दै वडाध्यक्ष राजेन्द्र भुसालले आफूखुशी आफ्नो क्षेत्रमा मात्रै बजेट खर्च गरेपछि तालाबन्दी गरेको स्थानीय विवेक जिसीले बिएल नेपाली सेवालाई बताएका छन्।
‘पहिला गाउँका कुन–कुन क्षेत्रमा बजेट खर्च गर्ने भन्ने सर्वसम्मत योजना बनेको थियो’, जिसीले भने, ‘अहिले त वडाध्यक्षले आफ्नो क्षेत्रमा मात्रै खर्च गर्नु भएछ, त्यसैले हामीले तालाबन्दी गरेका हौँ।’
उनका अनुसार वडाध्यक्ष भुसालले वडाका अन्य टोललाई बेवास्ता गरी असमावेशी तरिकाले बजेट विनियोजन गरेका हुन्।
त्यस्तै, वडाध्यक्ष भुसालले महत्वपूर्ण विषयलाई प्राथमिकता नदिई कम महत्वका विषयमा बढी रकम खर्च गरी बजेटको दुरुपयोग गरेको स्थानीयको आरोप रहेको छ।