स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा संचालन गर्न अनुरोध गरेको छ।
मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले आन्दोलनरत पक्षलाई प्रतिष्ठानका अधिकांश माग भइसकेकाले स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील ठाउँको सेवा सुरु गर्न आग्रह गरेका छन्।
‘आन्दोलनरत पक्षले उठान गर्नुभएका अधिकांश माग सम्बोधन भइसकेको, थप मागहरू सम्बोधनका क्रममा रहेका हुँदा कोभिड- १९ संक्रमण महामारीको अवस्थामा स्वास्थ्य जस्तो अत्यावश्यक र संवेदनशील क्षेत्र खुला राखी स्वास्थ्य सेवा संचालन गर्नुहुन अनुरोध छ’, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ। मन्त्रालय र आन्दोलनरत पक्षबीच छ बुँदे सहमतिसमेत भइसकेको छ।
मन्त्रालयले प्रतिष्ठानको समस्या पहिचान तथा छानविन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो। सो समितिले तयार पारेको प्रतिवेदनसमेत पेस गरिसकेको र सोही प्रतिवेदनका आधारमा प्रतिष्ठान सुधार गर्नतर्फ मन्त्रालय लागिपरेको समेत उनले बताए।
मन्त्रालयले चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलबाट प्रतिष्ठानले गरेका काम कारबाहीसम्बन्धी निरीक्षण एवं अनुगमन सम्पन्न भएको, प्रतिष्ठान कार्यरत उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार र अस्पताल निर्देशकलाई गतिरोध अन्त्य गर्न सहज निकासका लागि मार्ग प्रशस्त गर्न निर्देशन भएको, उपकुलपतिलाई प्राध्यापक उपाधिको प्रमाणपत्र पेस गर्नका लागि पत्राचार भइसकेको जनाएको छ।