संखुवासभा छ जना हत्या प्रकरणः फरेन्सिक विज्ञ र कुकुरसहितको टोली घटनास्थलतर्फ 

तेजन खड्का

काठमाडौँ

संखुवासभामा एकै परिवारका छ जनाको विभत्स हत्या भएपछि अनुसन्धानका लागि फरेन्सिक विज्ञ र कुकुरसहितको टोली घटनास्थलतर्फ पुगेको छ।
घटनाको जानकारी पाएलगत्तै अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली खटिएको प्रदेश नम्बर १ का प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक नवीनराज राईले जानकारी दिए। अहिले घटनास्थलमा मादी प्रहरीचौकीको टोली पुगेको छ। 

जिल्ला प्रहरी कार्यालयबाट डीएसपीसहितको टोली पनि घटनास्थलतर्फ प्रस्थान गरेको छ। तर यो टोली पुग्न तीन घण्टा बढी लाग्ने डीएसपी लालध्वज सुवेदीले बताए। ६ जनाको शव फेला परेको खबर आए पनि कसले र किन गर्यो भन्ने खुलेको छैन। धारिलो हतियार प्रहार गरेर हत्या गरेको जानकारी आएको डीएसपी सुवेदीले बताए।

मंगलबार विहान छिमेकीले सबैलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। अज्ञात समूहको धारिलो हतियार प्रहारबाट स्थानीय ५८ वर्षीय तेजबहादुर कार्की, ८० वर्षीया आमा पार्वता कार्की, ५६ वर्षीया श्रीमती मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएको स्थानीय शिक्षक योगेन्द्र ओझाले जानकारी दिए। वडाध्यक्ष खेमनाथ कटुवालका अनुसार घटना भएको घरमा घरमुली ८० वर्षीय बौद्धमान कार्की मात्र जीवित छन्।

घटनाको प्रकृति हेर्दा हत्या नै भएको हुनसक्ने वडाध्यक्ष कटुवालको भनाइ छ। म अहिले घटनास्थलमै छु। एकै परिवारका ६ जनाको विभत्स हत्या भएको छ, उनले भने, तेजकुमारको शव घरनजिकै सडकमा भेटिएको छ। कमला र रञ्जनाको शव भने घरछेउको खोलामा छ। सानो नानीहरूको शव घरमाथि खरबारीमा छ। पार्वताको शव चाहिँ घरभित्रै छ।  लखेटी—लखेटी आक्रमण गरेको देखिन्छ।

घटनास्थलमा मकैबारी माडिएको, चुरा फुटेको भेटिएकाले हत्या भएको हुनसक्ने वडाध्यक्ष कटुवालको भनाइ छ।

शरीरमा धारिलो हतियारले प्रहार गरेको चोट छ। रगत बगेको छ। छेउमा पुगेर हेर्न सक्ने अवस्था नै छैन,उनले भने। उनका अनुसार नजिकैको प्रहरी चौकीबाट पुगेको प्रहरी टोलीले घटनास्थलको सुरक्षा गरिरहेको छ।

घटनाको थप विवरण आइसकेको छैन।
 

प्रकाशित मिति: : 2021-09-06 13:50:00

प्रतिकृया दिनुहोस्