सी डिभिजन लिग छनोट: खेल मिलेमतोको आशंका 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने तल्लो डिभिजनको लिगमा ‘म्याच फिक्सिङ’ (खेल मिलेमतो) को आरोप लागेको छ।

हाल सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा चलिरहेको सी डिभिजन छनोट खेलमा सहभागी शुभारम्भ युवा समाज, कल्लेरी धादिङले खेल मिलेमतोको आरोप लगाएको हो।

समूह ‘एफ’ मा रहेको शुभारम्भ युवा समाजले सोहि समूहका इमाडोल युवा क्लब र लगनशील युवा क्लब धादिङबीचको खेलमा मिलेमतो भएको आरोप लगाएको हो। इमाडोल र लगनशील युवा क्लब धादिङबीच आइतबार खेल भएको थियो। अन्तिम खेलमा इमाडोल ३–१ गोल अन्तरले विजयी भएको थियो।

अन्तिम खेलसँगै इमाडोल र शुभारम्भ युवा समाजको समान २ खेलबाट ४ अंक रहँदा दुबै खेलमा पराजित लगनशील युवा क्लब, धादिङ बिना कुनै अंक तालिकाको पुछारमा रहेको थियो।

इमाडोल र शुभारम्भले १–१ गोल गर्दै अंक बाडेका थिए। यता, शुभारम्भले लगनशीललाई १–० गोल अन्तरले पराजित गरेको थियो।  इमाडोलले समेत लगनशीलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो।

एन्फाले आयोजना गरेको तल्लो डिभिजनको यस लिगमा देशभरबाट ६८ क्लबको सहभागीता रहेको छ। ६८ क्लबलाई २६ समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका विजेता टोली दोस्रो चरणको नकआउट समूहमा स्थान बनाउनेछन्।

समूह ‘एफ’ बाट समान अंक भए पनि गोल अन्तरका आधारमा शुभारम्भलाई पछाडि पार्दै इमाडोल युवा क्लबले नक आउट चरणमा स्थान बनायो। यता, समान अंक भए पनि शुभारम्भ युवा क्लब गोल अन्तरमा पछि पर्दै लिगबाट बाहिरियो।

लिगबाट बाहिरिएसँगै शुभारम्भ युवा समाजले २० गते  भएको खेलमा लगनशीनले इमाडोललाई जिताउन भूमिका खेलको भन्दै मिलेमतोको आरोप लगाएको हो। शुभारम्भले आफूलाई लिगबाट आउट गराउन लगनशीलले मिलेमतो गरेको आरोप लगाएको छ।

‘शुभारम्भ युवा समाज धादिङ गल्छि सहभागी भएको समूह एफ अन्तर्गत २० गते इमाडोल र लगनशील धादिङबीचको खेलमा मिलेमतो भएको भन्ने सूचना आएकाले भदौ २१ गते एन्फामा छानविन गरि सत्य तथ्य बाहिर ल्याउन अनुरोधसहित निवेदन पेश गरेका छौं,’ शुभारम्भ युवा समाज धादिङका अध्यक्ष सुदन खतिवडाले हस्ताक्षर गरिएको प्रेस विज्ञप्तीमा भनिएको छ।

यस्तै क्लबले आरोपित क्लबका खेलाडी र पदाधिकारीबीच पटक-पटक फोन सम्पर्क भएकाले टेलिफोन डिटेल्सको आधारमा निष्पक्ष छानबिनका लागि एन्फा समक्ष माग गरेको छ।

‘खेल सुरुहुनु अघि माथि उल्लेख गरिएका क्बलहरूका पदाधिकारी र खेलाडीहरूबीच पटक-पटक फोन सम्पर्क भएको खबर प्राप्त भएकाले टेलिफोन डिटेल्सको आधारमा निष्पक्ष छानविन होस् भन्ने हाम्रो जाडदार माग छ,’ क्लबले सार्वजनिक गरेको विज्ञप्तीमा भनिएको छ।

शुभारम्भ युवा समाजका ब्यवस्थापक सन्दिपप्रसाद घिमिरेले न्युज कारखानासँग म्याच फिक्सिङ भएकोमा दुई मत नरहेको दाबी गरे।

प्रकाशित मिति: : 2021-09-07 06:32:00

प्रतिकृया दिनुहोस्