'ब्याक ह्वेयर आइ बिलङ’ फुटबल स्टार रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा आवद्ध भएपछि भनेको वाक्य हो, यो।
म्यानचेस्टर युनाइटेड त्यही क्लब हो, जुन क्लब छाडेर उनले एक दशक अघि रियल म्याड्रिडको यात्रा तय गरेका थिए।
एक दशकपछि उनले एक वर्ष थप हुनसक्ने विकल्पसहित दुई वर्षका लागि सम्झौता गरेका हुन्। उनले क्लबमा आवद्ध हुने बित्तिकै इन्स्टाग्राममा आफूले क्लबमा रहँदा गौरवपूर्ण दिन बिताएको स्मरण गर्दै टिमको प्रदर्शन सधैँ स्वर्णिम अक्षरले लेखिने प्रतिक्रिया दिए। उनले म्यानचेस्टर युनाइटेडसँग खेल्दा विपक्षी समर्थकबाट समेत पाएको प्रशंसाले भाव विभोर बनाएको पनि बताएका छन्।
उनले सर एलेक्स फर्गुसनप्रति सधैँ उत्तिकै सम्मान र आदर भाव रहेको अभिव्यक्ति दिइसकेका छन्। सन् २००९ मा रियल म्याड्रिड जानुअघि रोनाल्डोले २९२ खेलमा ११८ गोल गरेका थिए। रेड डेभिल्सको परिचय बोकेको म्यानचेस्टरका वर्तमान प्रशिक्षक ओले गुनार सोल्सकजार त्यो समयका क्लबका स्टार रोनाल्डोको उपस्थितिले हर्षित छन्।
उनले रोनाल्डो आकर्षक खेलाडी मात्र नभएर महान् व्यक्ति पनि भएको प्रतिक्रिया दिए। सोल्सकजारले भनेजस्तै यति लामो समयसम्म यस्तै उत्कृष्ट फर्म र लयमा रहेर खेल्नु साँच्चै कठिन काम हो, जुन काम रोनाल्डोले गरे।
त्यसो त रोनाल्डोलाई म्यानचेस्टर सिटीले पनि सम्पर्क नगरेको होइन। उनले विगतमा ६ वर्ष बिताउँदा तीन पटक प्रिमियर लिग उपाधि, एक पटक च्याम्पियन्स लिग, दुई लिग कप, एक एफए कपका साथै फिफा क्लब विश्व कप र कम्युनिटी सिल्डको उपाधि जितेको टोली नै रोजे।
लामो समयको अन्तरालमा मैदानमा ओर्लने क्लबले ११ सेप्टेम्बरमा घरेलु भूमिमा न्यु क्याशल युनाइटेडसँग खेल्ने छ।
यो सिजनको सुरुवातमै स्टार खेलाडीलाई आफ्नो क्लबमा आवद्ध गराउन 'एक से एक'क्लब उत्तिकै आतुर थिए। १७ अगस्टका दिन रियल म्याड्रिड, पेरिस सेन्ट जर्मन र म्यानचेस्टर युनाइटेड यी महान् खेलाडीमा आवद्ध हुने चर्चा चलेको थियो।
यो समाचारको आंशिक खण्डन गर्दै रियलका बोस कार्लो एन्सेलोटीले कुनै फरवार्ड अनुबन्ध गर्ने कुरामा प्राथमिकतामा नरहेको प्रतिक्रिया दिए। त्यसो त युभेन्ट्सका मेनेजर मासिमिलीयानो एलेग्रेनीले कुनै खेलाडी सिरिए खेलिसकेपछि छोड्नै नचाहने प्रतिक्रिया दिए।
युभेन्ट्सले आफ्ना खेलाडीलाई रोनाल्डो बेच्ने इच्छा राखेको जानकारी दिनुअघि युडेनेसीसँगको लिगको पहिलो खेलमा रोनाल्डोलाई बेन्चमा राख्दै वैकल्पिक खेलाडीको रूपमा मैदानमा उतारेका थिए। यसबीचमा रोनाल्डोका एजेन्ट जर्ज मेन्ड्सले म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मन लगायत युरोपका ठूला शक्तिसँग सम्पर्क गरे।
केही दिनपछि एलेग्रेनीले रोनाल्डोले क्लब छाड्ने इच्छा सार्वजनिक गरे। सिटीका प्रशिक्षक पेप गुवार्डीओलाले रोनाल्डो जस्ता महान् खेलाडीले आफूले चाहेको स्थान रोज्ने प्रतिक्रिया दिए।
रोनाल्डोले क्लब छाडेके पुष्टि गर्दै युभेन्ट्सले संसारकै महान् खेलाडी २०१८ मा क्लबमा आएर एउटा उचाईँ दिएको र त्यो अध्यायको अन्त्य भएको प्रतिक्रिया दियो। क्लबले आफ्ना समर्थकले रोनाल्डो जहाँ गए पनि राजा जस्तो भएर प्रस्तुत भएको हेर्ने इच्छा भएको प्रतिक्रिया दिएका छन्।
कीर्तिमानका खानी रोनाल्डोले सन् २००८, २०१३, २०१४, २०१६ र २०१७ मा बालोन डी ओर अवार्ड जितेका थिए। सन् २००८ मा म्यानचेस्टर युनाइटेडलाई च्याम्पियन्स लिग उपाधि दिलाएका उनले सन् २०१४, २०१६, २०१७ र २०१८ मा रियल म्याड्रिडलाई यो प्रतिष्ठित फुटबल प्रतियोगिताको उपाधि दिलाए। सन् २००७ देखि २००९ सम्म लगातार तीनपटक म्यानचेस्टर युनाइटेडलाई उपाधि दिलाएका उनले सन् २०१२ र सन् २०१७ रियल म्याड्रिड तथा सन् २०१९ र २०२० मा युभेन्ट्सलाई घरेलु लिगको उपाधि दिलाएका थिए।
उनले यी तीन क्लबका साथै पोर्चुगलको राष्ट्रिय टोलीका साथै स्पोर्टिङ लिस्बनलाई समेत गरी आफू आवद्ध टोलीलाई ३२ पटक उपाधि दिलाएका थिए। उनले १७६ खेलमा १३४ च्याम्पियन्स लिग गोल गरेका छन्।
रोनाल्डोको उदयसँगै पोर्चुगल फुटबल इतिहासमा महान् खेलाडी को ? भन्ने एउटा बहस सुरु भएको थियो।
चौथो पटक बालोन डी ओर अवार्ड थापिसकेपछि, पछिल्ला चार वर्ष लगातार फिफा वर्ष खेलाडीको अवार्ड जितेका मेसीलाई पछि पार्दै अवार्ड खासेपछि रोनाल्डो निकै हर्षित देखिएका थिए। अवार्ड थापिसकेपछि आफ्ना लाखौँ‘ समर्थकतर्फ इङ्गित गर्दै रोनाल्डोले भनेका थिए, ‘इयुसिवियोसँग मेरो तुलना साँच्चिकै गर्विलो र अविश्वसनीय छ।’
इयुसिवियो अर्थात् पोर्तुगिज फुटबलका हस्तीको निधन भएको त्यो समय महिना दिन पनि बितेको थिएन। मोजाम्बिकमा जन्मिएका इयुसिवियोले नै पोर्चुगललाई विश्व फुटबलमा परिचित गराएका थिए। सन् १९६६ को विश्वकपमा पोर्चुगललाई तेस्रो स्थान दिलाउने क्रममा उनले उत्तर कोरिया विरुद्ध क्वाटरफाइनलमा एक्लै चार गोल गरे। इयुसिवियो पुस्ताको अन्त्यपछि एकै पटक सन् २००६ को विश्वकपमा पोर्चुगललाई तेस्रो स्थान दिलाउने क्रममा तत्कालीन कप्तान लुइस फिगो र रोनाल्डोकै प्रदर्शन मुख्य थियो।
२०१४ को विश्वकपमा पोर्चुगललाई प्रवेश गराउने क्रममा अन्तिम दुई खेलमा रोनाल्डोले निभाएको प्रदर्शनले त विगतका सबै इतिहासलाई बिर्साइदिएको थियो। अझै पनि यिसुबियो, लुइस फीगो र रोनाल्डो पोर्चुगलको फुटबल इतिहासकै सबैभन्दा ठूला सेलिब्रेटी मानिन्छन्।
मायालु रोनाल्डो
तीनै पछिल्ला सेलिब्रेटी रोनाल्डोले एन्डोरिना नामक एम्योचर क्लबबाट आठ वर्षको उमेरमै फुटबल खेल्न सुरु गरेका थिए, जहाँ उनका बाबुले भर्खरै पियनको काम थालेका थिए। उनकी हजुरआमा अफ्रिकन थिइन्। बाबु मारिया डोलोरेस अमेरिकाका पूर्वराष्ट्रपति तथा अभिनेता रोनाल्ड रेगनका ठूलो फ्यान थिए। त्यसैले उनले आफ्नो छोराको नाम नै रोनाल्डो जुराए। मायालु अनुहारका रोनाल्डो अभिनेता नै बनुन् भन्ने चाहना बाबुको थियो।
रोनाल्डोलाई आफ्ना दिदीहरू इल्मा र लिलियानाले निकै माया गर्थे। तर, उनको क्याथोलिक परिवारको आर्थिक अवस्था राम्रो थिएन। उनका दाजु तथा दुई दिदीसमेतलाई पाल्न परिवारले ठूलै संघर्ष गर्नुपरेको थियो। कोठामा दाजु हुगोसँगै सुत्ने रोनाल्डो खेलौना नपाएपछि भाैतारिन्थे। खेल्नका लागि अरू कुनै खेलौना थिएन, त्यसैले फुटबल उनको बाल्यकालदेखिकै प्रिय थियो, किनकि जाबो बल त अरूसँग माग्न पनि सकिन्थ्यो।
१० वर्षको उमेरमा उनले नासियोनल नामक स्थानीय क्लबसँग सम्झौता गरे। क्लबलाई उपाधि जिताइसकेपछि अर्को वर्ष स्पोर्टिङ सिपिले उनलाई ट्रायलमा बोलायो। त्यो त्यही क्लब थियो, जहाँबाट पोर्तुगिज फुटबलका आदर्श लुइस फिगोले खेलेका थिए। ट्रायल पास भइसकेपछि रोनाल्डो क्लबको युवा टिमका लागि छानिए।
मास्टर कुट्ने रेनाल्डाे
यति बेलासम्म स्थानीय स्तरमा रोनाल्डोको ख्याति बढी सकेको थियो। फुटबलबाट पाएको ख्यातिका कारण घरमा मात्रै होइन स्कुलमा समेत उनलाई माया गर्ने किशोरी बढेका थिए। किशोरीहरुसँगको बढ्दो हिमचिमकै कारण रोनाल्डोले पटक-पटक शिक्षकको कुटाइ भेट्नुपर्थ्यो। एक पटक आफ्नै शिक्षकलाई कुर्सीले हिर्काएपछि उनी निलम्बनमा पनि परेका थिए।
पहिलाे डेब्यु
स्पोर्टिङ सिपीमा राम्रो खेल्न थालेपछि १४ वर्षको उमेरबाट परिवारले उनलाई फुटबल मात्रै खेल्न छुट दिएको थियो। रोनाल्डोले सन् २००२ मा स्पोर्टिङ सिपीको सिनियर टिमबाट लिगमा डेब्यु गर्दै दुई गोल गरे।
मोरिइरेन्स विरुद्धको उक्त खेल स्पोर्टिङले ३-० ले जितेको थियो। त्यसै वर्षको अन्त्यमा आर्सनलका प्रशिक्षक आर्सेन विंगरले उनलाई लन्डनमा बोलाएका थिए। तर, आर्सनलले उनलाई भित्र्याउन ढिलाइ गरिरहेको थियो। विंगरले ढिलाइको ठूलो मूल्य त्यति बेला चुकायो, जति बेला फर्गुसनले रोनाल्डोलाई म्यानचेस्टर युनाइटेडमा भित्र्याए।
युनाइटेडलाई स्पोर्टिङले ३-१ ले हराएको खेलमा रोनाल्डोले जादु देखाएका थिए। त्यसपछि रायन गिग्स, रियो फर्निडान्ड लगायतका युनाइटेडका प्रमुख खेलाडीले रोनाल्डोलाई क्लब भित्र्याउन फर्गुसनलाई सुझाव दिए।
रोनाल्डो जहाँ जन्मिए पनि विश्व फुटबलमा उनको दमदार उपस्थिति म्यानचेस्टर म्यानचेस्टरको प्रवेशसँगै सुरु भएको मानिन्छ। जहाँ क्लबले डेभिड बेकह्यामको अभाव महसुस गर्न परेन भने रोनाल्डोले फर्गुसन जस्तो माया गर्ने अभिभावक पाए।
त्यसै क्लबमा दोस्रो स्पेलको सुरुवात गरेका उनमा पुरानो युवा जोस त छैन। तर, परिपक्वता छ । जोसिलो रोनाल्डोको पहिलो स्पेलभन्दा परिपक्व रोनाल्डोको रूपमा उनको यो दोस्रो स्पेल अझ सानदार पनि हुन सक्ने छ। -एजेन्सीकाे सहयाेगमा/मनु घिमिरे/न्युज कारखाना