कतार फिफा विश्वकप छनोट अन्तर्गत युरोपेली छनोट खेलमा स्ट्राइकर मेम्फिस डिपाए र यर्लिङ हालाण्डको ह्याट्रिकमा नेदरल्यान्ड र नर्वेले सहज जित निकालेका छन्। मंगलबार राति भएको समूह 'जि'को छुट्टाछुट्टै खेलमा घरेलु मैदानमा नेदरल्यान्डले टर्कीलाई ६-० गोल अन्तरले पराजित गरेकाे हाे।
एक पक्षीय खेलमा नेदरल्यान्डलाई जित दिलाउन बार्सिलोनाका स्ट्राइकर डिपाएले खेलको १६, ३८ र ५४औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। डिपाएले एक पेनाल्टी गोल गरेका थिए।
यस्तै, नेदरल्यान्डका लागि डाभि क्लासिन, गुस टिल र डनयेल मलेनले एक/एक गोल गरे।
समूह 'जि'कै अर्को खेलमा यर्लिङ हालान्ड प्रेरित नर्वेले गिब्रार्टारलाई ५-१ गोल अन्तरले पराजित गरेकाे छ। घरेलु मैदानमा नर्वेलाई जित दिलाउन स्ट्राइकर हालाण्डले ह्याट्रिक पूरा गरे। उच्च लयमा रहेका हालान्डले खेलको २७, ३९ र ९०औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्। क्रिष्टियन थोरोस्भेत र एलेक्जाण्डर सोरलोथले १/१ गोल गरेका थिए।
जितसँग समूह 'जि'मा नेदरल्यान्ड र नर्वेको समान ६ खेलबाट १३ अंक छ। गोल अन्तरका आधारमा नेदरल्यान्ड शीर्ष स्थानमा छ। समान ६ खेलबाट ११ अंक बनाएको टर्की तेस्रो स्थानमा छ।