महाधिवेशनमा जुटे जुम्लाका कांग्रेस, जिल्ला सभापतिमा आधा दर्जन आकांक्षी

Breaknlinks
Breaknlinks

काँग्रेस महाधिवेशनकाे आफ्नै शैलीले धेरैकाे ध्यान खिचेकाे छ। देशभर एकै दिन वडा, एकै दिन स्थानीय तह, जिल्ला, प्रदेश अधिवेशनसम्म हुनुले नेतृत्व परिवर्तनकाे पिरामिड शैली रुचिकाे विषय हाे। त्यसमाथि अर्काे रुचिकर कुरा भनेकाे अधिवेशनामा भाग लिन आउने हरेकले वडा स्तरबाटै प्रतिनिधि चुनिएर आउनुपर्ने वैधानिक प्रावधान छ।

'जनतासँग नेतृत्वको प्रत्यक्ष सहभागिता हुनुपर्ने मान्यता विधानले राखेकाे छ। यसले नेतृत्व र जनताकाे सम्बन्ध प्रगाढ बनाउँछ,' काँग्रेस जुम्लाका नेता देवेन्द्र शाहीले भने, 'नेताकाे वरिपरि घुमेर टीका लगाएकाे नेता हुन पाइँदैन भनेकाे हाे।'

भदाै १८ गते प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना सन्देशसहित महाधिवेशन प्रारम्भ भएकाे घाेषणा गरेपछि वडादेखि केन्द्रसम्मकाे नेतृत्वमा प्रतिस्पर्धा गर्नेहरु आ-आफ्नाे तयारीमा लागेका छन्। सभापति, महामन्त्रीलगायत केन्द्रीय पदाधिकारीमा भिड्नेहरुले उम्मेदवारी घाेषाणा गरिसकेका छन् भने जिल्ला जिल्लामा पनि नेतृत्व गर्नेहरुले तयारी थालेकाे जानकारी दिएका छन्।

यसैबीच देशभरका अधिकांश ठाउँमा वडा अधिवेशन सम्पन्न भइसकेको छ भने कति ठाउँमा विवादका कारण नेतृत्व चयन हुन सकिरहेको छैन। तथापि भदाै २२ गतेसम्म सबै वडाकाे नेतृत्व चयनकाे समयसिमा ताेकिएकाे छ।

०७८ श्रावण ३० गते काँग्रेस केन्द्रीय कार्य समितिको निर्णय अनुसार  वडा तहको अधिवेशन भदौ १८ गते, गाउँ/नगरपालिका तहको अधिवेशन भदौ २७ गते, प्रदेश सभा स्तरको क्षेत्रीय अधिवेशन असोज १ गते, प्रतिनिधि सभा स्तरको क्षेत्रीय अधिवेशन र एक मात्र क्षेत्र रहेको जिल्लाको जिल्ला अधिवेशन असोज ५ गते, जिल्ला अधिवेशन असोज १० गते, सात (७) वटा प्रदेशको प्रदेश अधिवेशन कार्तिक १०, ११ र १२ गते र केन्द्रीय महाधिवेशन मंसिर ९, १०, ११, १२ र १३ गते ताेकिएकाे छ। तर यहाँ जुम्लाकाे जिल्लास्तरीय नेतृत्वकाे सेराेफेराे प्रस्तुत गर्न खाेजिएकाे छ।

सभापतिका आधा दर्जन उम्मेदवार 
नेपाली काँग्रेस जुम्लाको सभापतिको लागि आधा दर्जन आकांक्षी देखिएका छन्। उनीहरुले आफ्नो तयारीका लागि कार्यकर्ता भेटघाट तथा नेतासँग लबिङलाई तीब्रता दिएकाे देखिन्छ। उनीहरु वडा, गाउँपालिका र प्रदेश क्षेत्रस्तरीय समितिमा आफ्नो पकड कायम राख्न लागि परेका छन्।

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पाैडेल समूहबाट अधिवेशनमार्फत पुरानै सभापति दीपबहादुर शाहीले दोहोरिने इच्छा राखेका छन् भने उनी पौडेल समूहका एक्ला उम्मेदवार हुन्। यता पार्टी सभापति देउवा समूहबाट पाँच जना आकांक्षी देखिएका छन्।

सचिव कर्णबहादुर शाही, खड्कबहादुर सेजुवाल, पूर्व मन्त्री भक्तबहादुर रोकाया, लंक शाही र मेयर कान्तिका सेजुवाल आकांक्षी देखिएको नेपाली काँग्रेस जुम्लाले जनाएको छ। आकांक्षी धेरै देखिए पनि अन्तिममा  पुराना सभापति र सचिवकै भिडन्त हुने कार्यकर्ताकाे अनुमान छ।

यसका लागि देउवा समूहका खड्कबहादुर सेजुवाल, भक्तबहादुर रोकाया, लंक शाही र कान्तिका सेजुवाल कर्ण शाहीलाई समर्थन गर्ने सम्भावना रहेकाे देउवा पक्षका हंशराज न्याैपानेले बताए।

सभापतिका उम्मेदवार  शाहीले आफू सचिव हुँदा परिस्थिति अनुकुल नभएपछि काठमाडौं बस्नुपरेको धेरै काम गर्न नपाएकोले याे कार्यकालमा थुप्रै काम गर्ने याेजना रहेकाे बताए। 'अब मैले नेतृत्व पाउँदा पार्टीको लागि दिलाे ज्यान दिन प्रतिवद्ध हुनेछु र पार्टीले उचाइ लिने गरी काम गर्नेछु,' उनले भने।

तर केही कार्यकर्ताले भने दीपबहादुर शाही र कर्णबहादुर शाही दुबैले आफ्नो कार्यकालमा सन्तोषजनक कार्य नगरेको भन्दै असन्तोष पोख्न थालेका छन्। यी दुबै आकांक्षी उस्तै हुन्।

तत्कालिन काँग्रेस सभापति मानव सेजुवालको निधनपछि शाहीले कार्यबाहक सभापतिको रुपमा पार्टी चलाउँदै आएका थिए। यो दुई कार्यकाल बितिसकेकोले सभापति शाहीले नयाँ व्यक्तिलाई अवसर दिनुपर्ने कार्यकर्ताकाे मत छ।

सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले कार्यकर्ताको मनोभावना बुझ्ने, पार्टीको लागि ज्यान दिने र जनताप्रेमी नेतृत्व अहिलेको आवश्यकता रहेको बताए। 'सभापतिको लागि जिल्लामा दुई खेमाकाे प्रतिस्पर्धा हुने देखिन्छ,' उनले भने, 'पार्टीलाई माया गर्ने र संकटमा पार्टी हाक्ने नेतृत्व चयन हुनुपर्छ। सबैको साझा नेतृत्व अहिलेको अपरिहार्यता हो।'

भर्खरै वडा अधिवेशन सकिएको छ। वडामा पनि आफ्नो अनुकुलताका आधारमा नेतृत्व चयन गर्ने कार्य भइरहेको छ। सभापति दीपबहादुर शाहीले भने, 'योपटक पनि म सभापतिको आकांक्षी हो। अघिल्ला कार्यकालमा बाँकी रहेका अधुरा काम पूरा गर्नुछ।'

जिल्ला सभापतिको आकांक्षी धेरै देखिएपछि कार्यकर्ताले सहमति गरेर सर्वसहमतीय नेतृत्व चयनका लागि दबाब दिन थालेका छन्।

नेतृत्व सर्वसहमतीय हुनुपर्छ
पार्टी सचिव समेत रहेका जिल्ला समन्वय समितिका उप-प्रमुख कार्मा बुढाले पार्टीको हित नै आफ्नो हित भएकोले सर्वसहमतीय नेतृत्वका लागि अधिकतम प्रयत्न गर्ने बताए।

उनले भने, ‘पार्टीलाई जीवित राख्न एक नभई सुखै छैन। एकल र सहमतीय नेतृत्व चयनका लागि सबै एकाकार हुनुपर्छ। त्यसको लागि सक्रिय नेता, कार्यकर्ता र समर्थक शुभचिन्तक लागि राख्नुपर्छ। यो अधिवेशन सिंगो पार्टी एक भएर अघि बढेको सन्देश फैलाउन जरुरी छ।'

काँग्रेस प्रजातन्त्रको मेरुदण्ड भएकाे लोकतन्त्रिक पार्टी भएकाले विचार र असहमति राख्न पाइने भएपनि नेतृत्व चयन गर्दा सर्वसहमति गर्न सकियाे भने उत्तम हुने उर्जा विकास तथा जलस्रोत मन्त्री दिनबन्धु श्रेष्ठले बताए। 'अबको अधिवेशनमा सबै मिलेर सहमतिका साथ नेतृत्व चयन गर्ने बेला हो। पार्टीमा निरन्तर क्रियाशिल रहेको, योगदान दिएको र चुनौति सामाना गर्न सक्ने नेतृत्व ल्याउनुपर्छ,' उनले भने, 'यसका लागि सबै काँग्रेसीजन लागिपर्नु पर्छ।'

नयाँ पुस्ताका कार्यकर्ताहरु पनि नेतृत्व चयनमा सहमति हुन सके पार्टी झन् बलियाे हुने र कार्यकर्ताकाे मनाेबल बढ्ने सिंजाका महेन्द्र हमालले बताए। 'अहिले देशकाे परिस्थितिले काँग्रेस नेतृत्व मागिरहेको छ। यस्ताे अवस्थामा हरेक जिल्लामा असल नेतृत्वकाे खाँचाे पर्नेछ,' उनले भने, 'पार्टीलाई व्यापक जनताकाे बीचमा पुगाउन सर्वमान्य नेतृत्व आवश्यक छ।'

जिल्लामा पाैडेल समूह बलियाे
जुम्लामा काँग्रेसभित्रका दुई समूह मध्ये पौडेल समूह बलियो देखिन्छ। त्यसैले पाैडेल समूहका एक्ला उम्मेदवार शाही आफूले जित्नेमा ढुक्क छन्। 'आशा छ, मेरो नेतृत्वमा सहमति जुट्नेछ। यदि त्यसो नभएको खण्डमा पौडेल प्यानलबाट चुनावी पक्रियामा भाग लिएर भएपनि सभापतिमा लड्ने तयारी भइरहेको छ,' उनले भने, 'म त्यो प्यानलको एक्लो उम्मेदवार हुनेछु। साथै नेता कार्यकर्ताको साथ पाउनेछु।'

पार्टीमा उनकाे नेतृत्व भएकाे बेला स्थानीय तह, संघ र प्रदेशकाे चुनाव भएकाे थियाे। संघ र प्रदेशका चुनावमा हार बेहाेरे पनि स्थानीय तहकाे निर्वाचनमा जिल्लाका आठ स्थानीय तहमध्ये ४ वटामा काँग्रेसले  जित हासिल गरेकाे थियाे। पार्टी बलियाे बनाउनमा आफ्नाे समूहको गतिविधि र समन्वय रहेकाे उनले बताए।

'म पार्टी सभापति भएपछि थुप्रै ठाउँमा सरकारमा रहेका कम्युनिष्ट पार्टीमा रहेका कार्यकर्ता प्रवेश गराउन सफल भएका छौं। स्थानीय तहमा पनि जित्यौं,' उनले भने, 'अहिले काँग्रेसको पक्षमा जिल्लाभर माहोल छ। यो माहोल बिग्रन नदिनको लागि एकपटक फेरि मेरो नेतृत्वमा काँग्रेसअघि बढ्नु पर्छ भन्ने मान्यता छ।'

अधिकांस वडामा युवा नेतृत्व
नेपाली काँग्रेस जुम्लाले जिल्लाका कुल ६० वटा वडा मध्ये अधिकांस वडाको नेतृत्व युवालाई सुम्पेको छ। पार्टीलाई गतिशिल र फरक शैलीले अघि बढाउन युवा नेतृत्व आवश्यक भएकोले अधिकांस वडाको जिम्मा युवाको काँधमा सुम्पिएको पाका पुस्ताका कार्यकर्ता तथा चन्दननाथ १० का वडा अध्यक्ष इश्वरी प्रसाद न्याैपानेले बताए।

'अब युवाको काँधमा नयाँ जिम्मेवारी बोधका साथ काँग्रेस अगाडि बढ्दैछ भन्ने सन्देश दिनु पर्छ,' उनले भने, 'हामीले वडा सभापति देखि प्रतिनिधि छनाेटमा युवा पुस्तालाई अगुवाइ गर्न आग्रह गरेका छाैं।'

पार्टी प्रति युवाको आकर्षक बढिरहेको समयमा संगठन चुस्त दुरुस्त र समयानुकुल अघि बढाउन सक्छन् भन्ने मान्यताका साथ युवा पुस्ताले जिम्मेवारी पाएकाे जिल्ला समन्वय समितिका उप-प्रमुख बुढाले बताए।

'नयाँ परिस्थिती अनुसार वडा हाँक्न सक्छन् भनेर युवा पस्ताप्रति विश्वास जागेको छ,' उनले भने, 'विज्ञान र प्रविधि सँग पनि सहजै जोडिने भएकोले अधिकांस वडा युवाको नेतृत्वमा चल्ने गरि नेतृत्व चयन गरिएको हो।'

जुम्लाको एकमात्र चन्दननाथ नगरपालिका -४ मा ३३ वर्षीय दीपेन्द्रविक्रम हमाल वडा सभापतिमा चुनिएका छन्। सानै उमेरमा नेविसंघको राजनीतिमा क्रियाशिल उनले वडालाई नयाँ प्रकारले अघि बढाएर काँग्रेसमय बनाउन लाग्ने बताए।

त्यस्तै चन्दननाथ -१० मा युवा नेता र्दुलभ खत्रीले जिम्मेवारी पाएका छन्। भने कनकासुन्दरी गाउँपालका -८ मा मात्रिका उपाध्याय वडा सभापतिमा चुनिएका छन्।

यसपालि पार्टी नयाँ ढंगले अगाडि बढ्न खाेजिरहेकाे उर्जा विकास तथा जलस्रोत मन्त्रीका स्वाकीय सचिव महेन्द्र कार्कीले बताए। 'पर्टीले वडा स्तरमा युवाहरुलाई विश्वास गरेकाे छ। याे सकारात्मक पक्ष हाे,' उनले भने, 'यस्तै खालकाे जिम्मेवारी र विश्वास जिल्ला, प्रदेश र केन्द्रमा हुन सक्याे भने पार्टीको उचाइ अझ बढ्ने छ। राजनीति मरुन्जेल गर्ने कसैकाे पेसा र पेवा हुनुहुन्न।'

समावेशीताकाे कसीमा कमजोर काँग्रेस

काँग्रेस महाधिवेशनकाे दाैरानमा वडास्तरमा युवा पुस्ता देखिए पनि समावेशीताकाे कसीमा जुम्ला काँग्रेस कमजोर देखिएकाे छ। अधिकांश वडामा नेतृत्व चयन भइसक्दा जम्मा एक जना महिला वडा सभापतिमा निर्वाचित भएकी छन्।

तिला गाउँपालिका -२ को वडा सभापतिमा २६ वर्षीया सीता रावत चयन भएकी छन्। उनी बाहेक अन्य कुनै पनि वडामा दलित, जनजाति र महिलाहरु वडा सभापति नबनेकाे नेता देवेन्द्र शाहीले बताए। 'प्रतिनिधि छनाेटमा हामीले आरक्षण काेटा नै छुट्याएका छाैं,' उनले भने, 'जिल्लामा त्यसरी प्रतिनिधित्व गराइनेछ। तर वडामा भने त्यस्ताे हुन सकेन।'

प्रकाशित मिति: : 2021-09-08 19:11:00

प्रतिकृया दिनुहोस्