कांग्रेसका पूर्व जिल्ला सभापति र वर्तमान सचिव वडाबाटै पराजित

नेपाली कांग्रेसको महाधिवेशनअघि वडाबाट हुने क्षेत्रीय प्रतिनिधि छनाैटअन्तर्गत भएकाे निर्वाचनमा पूर्व पार्टी  जिल्ला सभापति कृष्णबहादुर घर्ती पराजित भएका छन्। उनी रोल्पाको माडी गाउँपालिका वडा नम्बर २, घर्तीगाउँबाट पराजित भएका हुन्।

कांग्रेसको आसन्न १४औं महाधिवेशनअन्तर्गत जिल्लाको ७२ वडामध्ये ६६ वडामा सर्वसम्मतिबाटै प्रतिनिधि चयन भएका छन्। तर, बाँकी वडामा भएकाे अधिवेशनमा भने कतिपय जिल्लास्तरका नेता क्षेत्रीय प्रतिनिधिमा पराजित भएका हुन्।

कांग्रेसको माथिल्लो पदमा लड्न वडाबाट क्षेत्रीय प्रतिनिधि चुनिनु अनिवार्य छ। ०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा लागेका घर्ती ०५९ सालमा तत्कालीन शेरबहादुर देउवा नेतृत्वकाे काँग्रेस (प्रजातान्त्रिक) रोल्पाको जिल्ला सभापति भएका थिए। पूर्वगाविस अध्यक्षसमेत रहेका घर्ती काँग्रेसको १२ औँ महाधिवेशनमा अमरसिंह पुनलाई पराजित गरी विजय भएका थिए।

देउवा पक्षका नेता घर्तीले काँग्रेसकाे १३औँ महाधिवेशनमा कुनै पनि पदमा उम्मेद्वार दिएनन्। तर १४औँ महाधिवेशनका लागि वडा स्तरको क्षेत्रीय प्रतिनिधिमा  उम्मेदावार दिएका घर्ती वडामै पराजित भएका हुन्।

त्यस्तै नेपाली काँग्रेसका वर्तमान सचिव मोहन परियार पनि पराजित भएका छन्। जिल्लास्तरका नेताहरु वडा तहमै पराजित हुनु दु:खद् भएको नेपाल विद्यार्थी संघ रोल्पाका जिल्ला सभापति शेरबहादुर थापाले बताए। रोल्पामा काँग्रेसले हालसम्म ७१ वडामा अधिवेशन सम्पन्न गरिसकेकाे छ।

नेपाल तरुण दल रोल्पाका उपाध्यक्ष पशुपति घर्ती पनि क्षेत्रीय प्रतिनिधिमा पराजित भएका छन्। 

 

प्रकाशित मिति: : 2021-09-10 18:01:00

प्रतिकृया दिनुहोस्