एकसिङ्गे गैँडा संरक्षणमा चुनौती

File photo
File photo

बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको लोपउन्मुख एक सिङ्गे गैँडा संरक्षणमा चुनौती रहेको छ। 

जलवायु परिवर्तनका कारण तापक्रम वृद्धिको असर गैँडा संरक्षणमा पर्न थालेको छ। गैँडाका चरिचरन क्षेत्रमा वनमारालगायत मिचाहा प्रजातिका वनस्पति झाङ्गिँदै गएकाले आहाराको समस्या चुनौतीका रूपमा देखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए। 

निकुञ्जसहित मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा गैँडाले बासस्थान बनाएका छन्। बर्दियामा पाँगो माटोको समस्या छ। यस्तो माटो घट्दै गएको पाइन्छ। 

गैँडालाई आहालमा बस्नुपर्ने भएकाले पोखरी तथा घोल आवश्यक पर्छ। कर्णाली–गेरुवा नदीमा पानीको मात्रा घटेकाले गैँडाका बासस्थानमा पानीको समस्या छ। 

सन् २०१५ को अनुगमनबाट चितवनमा ६०५, बर्दियामा २९, शुक्लाफाटामा आठ र पर्सामा तीन गरी ६४५ एकसिङ्गे गैँडा छन्। सन् २०१७ र २०१८ मा चितवन राष्ट्रिय निकुञ्जबाट बर्दियामा आठ गैँडा स्थानान्तरण गरिएका छन्। 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठले गैँडा गणना गर्न रु एक करोड १० लाख लागत अनुमान गरिएको बताए। त्यसमध्ये रु ३० लाख मूल्यको प्राविधिक सामग्री खरिद छ। 

प्रत्येक चार/पाँच वर्षमा गरिने गैँडा गणना गत वर्ष कोभिड महामारीका कारण रोकिएको थियो । निकुञ्जमा प्रत्यक्ष विधिबाट गैँडा गणना गरिएको छ। 

प्रकाशित मिति: : 2021-09-12 19:31:00

प्रतिकृया दिनुहोस्