मैत्रीपूर्ण फुटबलः बंगलादेशसँग नेपालको निराशाजनक बराबरी

बंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले घरेलु मैदानमा निराशाजनक बराबरी खेलेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका हुन्। 

दुवै टोलीले पहिलो हाफमा केही अवसर बनाए पनि सदुपयोग गर्न सकेका थिएनन्। दोस्रो हाफमा भने सुस्त खेल देखाएका दुवै टोलीले खासै उपयोगी मौका बनाउन सकेनन्।

यसअघि पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको थियो। नेपालका लागि दुवै गोल डेब्यु खेलाडी प्रीति राई र सविता राना मगरले गरेका थिए। 

खेलको ९ मिनेटमा नेपालले पहिलो मौका बनायो। डिफेण्डर अमृता जैशीले अगाडि बढेर डी-बक्स बाहिरबाट हानेको प्रहार गोलरक्षक रुप्ना चक्माको हातमा पुग्यो। 

१०औँ मिनेटमा अनिता बस्नेतको पासमा सरु लिम्बूले डी-बक्सबाहिरबाट हानेको प्रहार चक्माले बाहिर पन्च गरिन्। 

खेलको ७ मिनेटमा बंगलादेशले गोल गर्ने सुनौलो अवसर गुमायो। गोल किपर अन्जना रानाले डी-बक्सभित्र फुत्काएको बललाई श्रीमोती सर्कारले खाली पोस्टमा गोल गर्न सकिनन्। उनको प्रहारअघि नै डिफेण्डर गीता रानाले बल खोसेकी थिइन्। 

खेलको ३० मिनेटमा बंगलादेशकी श्रीमोती सर्कारले डी-बक्सबाहिरबाट हानेको प्रहार क्रसबारमाथि लागेर बाहिरियो। 

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले रेनुका नगरकोटीको कप्तानीमा पहिलो मैत्रीपूर्ण खेलबाट तीन जना खेलाडी परिवर्तन गरेका छन्। गोल किपर अन्जना राना मगर, रश्मि घिसिङ र अनिता बस्नेतले सुरुवाती- ११ मा स्थान बनाएका  छन्। 

यसअघिको खेलमा एन्जिला तुम्बापो सुब्बा, मञ्जलीकुमारी योन्जन र सविता राना मगरलाई मौका दिइएको थियो।

दोस्रो मैत्रीपूर्ण खेलमा प्रशिक्षक ग्यारीले रजिना थोकरलाई डेब्यु गराएका थिए। खेलको ८९ मिनेटमा रजनी प्रीति राईको स्थानमा मैदान प्रवेश गरेकी थिइन्।

दुई मैत्रीपूर्ण खेलमा ग्यारीले पाँच जनालाई डेब्यु गराएका हुन्। 

एएफसी महिला एसिया कप, २०२२ छनोटको तयारीका लागि नेपाल र बंगलादेशले मैत्रीपूर्ण खेल खेलेका हुन्। उज्वेकिस्तानमा हुने समूह 'एफ'को खेलमा नेपालले फिलिपिन्ससँग २ असोज र हङकङसँग ५ असोजमा खेल्नेछ। 

नेपाली टिम त्यसतर्फ भोलि (सोमबार) प्रस्थान गर्नेछ। 

प्रकाशित मिति: : 2021-09-12 20:46:00

प्रतिकृया दिनुहोस्