इंग्लिस प्रिमियर लिग (इपीएल) मा एभर्टनले बर्नलीमाथि सहज जित निकालेको छ।
सोमबार राति गुडसन पार्कमा भएको खेलमा एभर्टनले बर्नलीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।
घरेलु मैदानमा एभर्टनलाई जित दिलाउन माइकल केन, एन्ड्रोस टाउनसेण्ड र डेमाराई ग्रेले १-१ गोल गरे। बर्नलीका लागि बेनमीले १ गोल गरे। खेलमा अग्रता भने भ्रमणकारी टोली बर्नलीले बनाएको थियो। दोस्रो हाफको ५३ मिनेटमा बेनमीले बर्नलीलाई अग्रता दिलाए।
६० मिनेटमा माइकलले गोल गर्दै घरेलु टोलीलाई १-१ को बराबरीमा ल्याए। बराबर गोल गरेको पाँच मिनेटमै एन्ड्रोसले २-१ को अग्रता दिलाए। ६६ मिनेटमा ग्रेले एभर्टनको लागि तेस्रो गोल गर्दै ३-१ को जित सुनिश्चित गरे।
जितसँगै एभर्टन तालिकाको चौथो स्थानमा उक्लिएको छ। उसको चार खेलबाट १० अंक भएको छ। पराजित बर्नली समान चार खेलबाट एक अंकसहित १८औँ स्थानमा छ।