वैदेशिक रोजगार बिचौलियाको बजार, छेक्छन् बाटो

बिचौलिया  : के कामले आएको ?
पत्रकार     : श्रम स्वीकृति गराउन।
बिचौलिया  : कुन देश जाने ?
पत्रकार     : मलेसिया
बिचौलिया  : अनलाइन फाराम भरिदिन्छौं। टोकन पनि दिन्छौं। भित्र लाइन लाग्नुपर्दैन।
पत्रकार     : टोकन त कार्यालयले दिने होइन र ?
बिचौलिया  : काँ हुनु ! हामीसँग टोकन छ। सबै काम हामी गराइदिन्छौं।

यो संवाद वैदेशिक रोजगार कार्यालय ताहाचल काठमाडौंको गेट अगाडि बिचौलिया र अन्नपूर्ण पोस्ट् टोलीबीचको हो। हामी सोमबार बिहान ७:५० बजे पुग्दा एक बिचौलिया सेवाग्राही सम्झिएर बाटो छेक्न आइपुगिन्। हामीले सेवाग्राहीकै रूपमा कुरा गर्‍यौं। ‘कार्यालय पुगेर आउँछौं’ भन्दै हामी अघि बढ्यौं।

गेटमा गार्डले प्रश्न गरे– ‘के काम छ ?’

हामीलाई पछ्याउँदै आएका एक पुरुषले हात समाउँदै भने, ‘ल हामी तपाईंलाई सस्तोमा कुनै पनि काम गराइदिन्छौं।’

श्रम स्वीकृतिका लागि जानेलाई बिचौलियाले बाटो छेकेर हैरान पार्छन्। अनलाइन फाराम भर्ने नाममा उनीहरू सेवाग्राहीलाई लुटिरहेका छन्। वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिन तथा नवीकरण गर्नुपर्ने हुन्छ। तर, बिचौलियाले १ हजारदेखि १५ सयसम्म बढी रकम असुली गर्छन्।

म्यादी जीवन बिमा गर्दा १८–३५ वर्षकालाई ३ हजार ७ सय ८, ३६–५० वर्ष समूहकालाई ४ हजार ९ सय ३१ र ५१–६४ सम्मलाई ९ हजार ४ सय ६३ तोकिएको छ। सबै उमेर समूहले श्रम स्वीकृति गर्दा वैदेशिक रोजगार कल्याण कोषमा १ हजार ५ सय रुपैयाँ जम्मा गर्नुपर्छ। श्रम स्वीकृतिको अनलाइन फाराम भर्दा ३ सयसम्म लिन पाउने कार्यालयले तोकेको छ। तर, बिचौलियाले बेसी रकम असुल्छन्। कसैलाई ५ सयभन्दा बढी त कसैलाई १ हजार वा अलमलिएको देखे भने २ हजार रुपैयाँसम्म बढी लिने रहेछन्।

जीवन बिमा र कोषमा जम्मा गर्नुपर्ने रकम अनलाइनबाट तिर्न सक्ने सुविधा दिइएको छ। बिचौलियाले यसलाई नै सेवाग्राही ठगी गर्ने ‘हतियार’ बनाएका छन्। साइबरवालाले कार्यालय वरिपरि मान्छे खटाएर सेवाग्राही तान्ने गर्छन्। अनलाइन प्रणालीले श्रम स्वीकृति गराउन मध्यरातदेखि लाम लाग्नुपर्ने बाध्यता हटाएको छ। तर, पाँच मिनेटमा एउटा फाराम भरिदिएबापत बिचौलियाले हजारौं रकम असुलिरहेका छन्। 

प्रकाशित मिति: : 2021-09-14 10:50:00

प्रतिकृया दिनुहोस्