एमालेको चेतावनी : प्रतिपक्षविनै सदन चलाएर देखाए हुन्छ !

सभामुखले जहाँबाट बिगार्नुभयो, त्यहीँ फर्केर सच्याउनुपर्छ : प्रदीप ज्ञवाली

रातोपाटी

काठमाडाैं

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माधव नेपालसहित १४ सांसदमाथिको कारबाहीबारे सभामुखले सूचना टाँस नगर्ने हो भने ‘मार्ग प्रशस्त’ गर्नुपर्ने बताएको छ। सभामुखले जहाँबाट गल्ती गरेका हुन्, त्यहीँ फर्केर सच्याउनुपर्ने एमालेको ‘बटम लाइन’ छ।

आइतबार सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गरेको थियो। यद्यपि सभामुखलाई पत्र पठाएर एमालेले रेस्पोन्स गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले रातोपाटीलाई बताए।

रातोपाटीसँगको संक्षिप्त कुराकानीमा एमाले नेता ज्ञवालीले भने, ‘हामीले उहाँहरूलाई रेस्पोन्स नगरेको होइन, पत्रै पठाएका छौँ। कि सूचना टाँस्नुस्, हैन भने अब मार्ग प्रशस्त गर्नोस् भनेर पत्र पठाएका छौँ ।’

सभामुखले निष्पक्ष भूमिका खेल्न नसकेको हुनाले प्रतिपक्षको विश्वास टुटेको ज्ञवालीले बताए। संसद्को सबैभन्दा ठुलो दल एमालेलाई पेलेरै अघि बढ्न खोजेको हो भने अघि बढेर देखाए हुन्छ भन्ने चेतावनीको भाषामा प्रवक्ता ज्ञवालीले भने, ‘प्रतिपक्षविनै सदन चलाउँछु भन्ने हो भने चलाएर देखाए भयो, यसमा हामीलाई केही भन्नु छैन।’

प्रकाशित मिति: : 2021-09-14 11:09:00

प्रतिकृया दिनुहोस्