भरतपुर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

File photo
File photo

भरतपुर अस्पताललाई भरतपुर महानगरपालिकाले स्वास्थ्य सामग्री सहयोग गरेको छ। 

महानगरपालिकाले अस्पताललाई रु ५० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो। महानगर प्रमुख रेनु दाहालले अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्ण पौडेललाईस्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन्। 

इसिजी मेसिनसहित कोभिड–१९ सम्बन्धी स्वास्थ्य सामग्री महानगरले हस्तान्तरण गरेको हो। सो अवसरमा भरतपुर महानगरप्रमुख दाहालले कोभिड–१९ को उपचारमा भरतपुर अस्पतालले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गरिएको बताइन्। 

काठमाडौँलगायत विभिन्न जिल्लाबाट हेलिकोप्टरबाट कोभिडका बिरामी उपचारका लागि भरतपुर आएको भन्दै कोभिड उपचारमा कुनै कमी हुननदिएको उनको भनाइ छ। 

स्वास्थ्य सामग्रीको सही सदुपयोग गर्दै सेवालाई अझ बढी प्रभावकारीरूपमा प्रयोग गर्न उनले आग्रह गरिन्। मित्रराष्ट्र चीनको सिगात्से सिटी र बेइजिङ एग्रो बायोटिकले महानगरलाई उपलब्ध गराएको स्वास्थ्य सामग्री भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको हो। 

सो अवसरमा प्रदेशसभा सदस्य गीता वाग्लेले भरतपुर अस्पतालको सेवा प्रभावकारी भइरहेको बताइन्। अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले भरतपुर महानगरबाट अस्पतालको विकासमा निरन्तर सहयोग भइरहेको भन्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे। कार्यक्रममा मेडिकल सुपरिटेण्डेन्ट पौडेलले सबैको सल्लाह र सुझाव अनुसार नै अस्पताललाई अगाडि बढाउने जानकारी दिए। 

प्रकाशित मिति: : 2021-09-17 22:00:00

प्रतिकृया दिनुहोस्