संसद् पुनर्स्थापनाको मुद्दा हाल्ने शीर्षनेता, बहस गर्ने वकील, प्रचार गर्ने पत्रकार र फैसला सुनाउने न्यायाधीशले पाए तक्मा (सूचीसहित)

सरकारले संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषण, अलङ्कार र पदक प्रदान गरेका नौ सय तीन जनामध्ये प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दामा महत्वपूर्ण भूमिका खेल्ने धरैजसोले पाएका छन्।

मुद्दा हाल्ने शीर्षनेता, मुद्दा लेख्ने र बहस गर्ने वकीलहरु, प्रचार गर्ने पत्रकार र फैसला गर्ने न्यायाधीशहरु सबैले विभूषण, अलङ्कार र पदक पाएका हुन्।

पदक पाउनेको सूचीभित्र उक्त मुद्दाका रिट–निवेदक पूर्वप्रधानमन्त्री झलनाथ खनालले तक्मा पाएका छन् । अर्का निवेदकद्वय माओवादीकेन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की पत्नी सीता दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालका पिता (स्व.)मङ्गलकुमार उपाध्याय नेपालले पनि पदक पाएका छन्।

गाेरखापत्रमा प्रकाशित सूचना अनुसार, हाल अत्यन्त बिरामी रहेकी प्रचण्ड–पत्नी दाहाललाई 'राजनीतिक अभियन्ता' का रुपमा सम्मानित गरिएको छ। माधव नेपालका पिता स्व. नेपाललाई गौरका साहित्यकारका रुपमा मरणोपरान्त तक्मा दिन लागिएको हो। 

दुवै पटकको प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको फैसला गरी प्रतिनिधिसभा पुनर्स्थापनाको निर्णय गर्ने संवैधानिक इजलाशका अध्यक्ष  प्रधानन्याधीश चोलेन्द्र शमशेर जबरालाई  उज्जवल राष्ट्रद्वीप प्रथम श्रेणीको विभूषण दिइएको छ। यो उनले यसै वर्ष पाएको दोस्रो पटक हो।

प्रधानन्याधीश जबराले यसअघि बैशाखमा पनि तक्मा पाएका थिए। विभूषण, अलङ्कार र पदक पाउनेको नाम संस्था प्रमुखले सिफारिश गर्ने व्यवस्था छ। यसरी हेर्दा राणा स्वयंले आफ्नो नाम सिफारिश गरेको देखिन्छ।

संवैधानिक बेञ्चमा बसेका न्यायाधीशहरु विश्वम्भर श्रेष्ठ पनि यसै वर्ष दोहोर्‍याएर तक्मा पाउने अर्का न्यायाधीश हुन्। संवैधानिक इजलाशमा रहेका सर्वोच्च अदालतका न्यायाधीशहरु सपना मल्ल प्रधान र तेजबहादुर केसीको नाम पनि तक्माको सूचीमा छ।

दुवै पटकका प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद् क्रियाशील अग्रपंक्तिका कानून व्यवसायी छुटेका छैनन्। वरिष्ठ अधिवक्ताहरु कृष्णप्रसाद भण्डारी, बद्रीबहादुर कार्की, महादेव यादव, हरिहर दाहाल, रमन श्रेष्ठ, मुक्ति प्रधान, दिनेश त्रिपाठी, गोविन्द शर्मा 'बन्दी' सबैले तक्मा पाएका छन्।

महान्यायाधिवक्ता खम्बबहादुर खातीले पनि स्वयंलाई पदक सिफारिश गरेका छन्। उनी महान्यायाधिवक्ता भएको दुई महिना पनि  नपुगे पनि गत वर्षको कामका लागि विभूषण, अलङ्कार र पदक पाउनेमा परेका छन्।

एमालेका केन्द्रीय सदस्य  प्रदीप नेपालले पनि पदक पाएका छन्। उनी एमाले फुटाउन माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी बनाउन निर्वाचन आयोग गएर हस्ताक्षर गरेका नेता हुन् । पछि नेपालको पार्टी पनि त्यागेका थिए ।

पदक पाउनेको सूचीमा प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दा हाल्नेहरु– पूर्वप्रधानमन्त्री खनाल स्वयंलाई, प्रचण्ड–पत्नी र माधव नेपालका स्वर्गीय पितासमेत संसद पुनर्स्थापनाको लागि भूमिका खेलेका अधिकांशलाई संविधान दिवशमा विभूषण, अलङ्कार र पदकबाट सुशोभित गरेकोमा पूर्वसभामुखसमेत रहेका तत्कालीन संविधानसभा अध्यक्ष एवम् एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले टिप्पणी गरे । बिएल नेपाली सेवासँग उनले भने, 'यसरी मुद्दा जिताएर सत्तामा पुर्‍याएबापत पदक दिनु भनेको घूस हो । म न्यायाधीशहरुलाई उक्त घूस अस्वीकार गर्न आग्रह गर्छु ।'

पूर्वमहान्यायाधिवक्ता रमेश बडालको पनि यसरी छानी–छानी पदक दिनुले न्यायाधीश, नेता, वकील र पत्रकार प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा कति मिलेर काम गरेका रहेछन् भन्ने उद्घाटित भएकाे बताए । 'मुद्दा लेख्न लगाउने पूर्वप्रधानमन्त्री खनालसहित पूर्वप्रधानमन्त्रीहरु, मुद्दा लेख्ने वकीलहरु, मुद्दाको प्रचार गर्ने पत्रकार र फैसला गर्ने न्यायाधीशलाई नछुटाई तक्मा दिइएको छु', पूर्वमहान्यायाधिवक्ता बडालले बिएल नेपाली सेवासँग भने, 'यो राज्यका तर्फबाट प्रदान गरिएको घूसको 'सिरिज' हो। अमूक मुद्दा फैसला गरेबापत नेपालमा आजका मितिसम्म राज्यले न्यायाधीशहरुलाई बक्सिस दिएको थाहा छैन। यस्तो त पञ्चायती व्यवस्थामा  पनि हुँदैनथ्यो। यो खुल्लमखुल्ला भयो।'

पदक पाउनेमा कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष एवम् प्रबन्ध निर्देशक कैलाश सिरोहिया, नयाँपत्रिकाका मालिक एवम् प्रधानसम्पादक कृष्णज्वाला देवकोटा, बाह्रखरीडटकमका मालिक एवम् सम्पादक प्रतीक प्रधान, अन्नपूर्णपोष्टका मालिक रामेश्वर थापा, नागरिक दैनिकका मालिक विनोद ज्ञवालीलगायत छन्।



संविधान दिवसको अवसरमा 'प्रचण्ड' पत्नीसहित ९०३ विभूषित (सूचीसहित)

संविधान दिवसको दिन विभूषण, अलंकार र पदकबाट विभूषित हुनेहरू– 

प्रकाशित मिति: : 2021-09-19 13:01:00

प्रतिकृया दिनुहोस्