विष्णु पौडेललाई ‘क्रस’ गर्न नदिन ईश्वर पोखरेलको गोप्य भेला

तेजन खड्का

काठमाडौं
फाइल तस्वीर
फाइल तस्वीर

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीभित्र आफ्नो समूहलाई सबल बनाउने प्रयास थालेका छन्। ०३३ सालदेखि माधव नेपालसँगै केन्द्रीय कमिटीमा रहे पनि आम–सञ्चारमाध्यमले समेत आफूलाई उपेक्षा गरेको गुनासो उनले आफूनिकटमाझ पोख्न थालेका छन्।

काठमाडौंको टोखास्थित आफ्नो निवासमा शुक्रबार र शनिबार बिहानै जम्मा भएका आफूनिकट सञ्चारकर्मी तथा निर्वाचन क्षेत्रका कार्यकर्तालाई उनले आगामी दशौँ महाधिवेशनमा पार्टी अध्यक्षका लागि तयार रहेको बताएका हुन्।

पोखरेलले गत भदौँ १४ गते पनि आफूनिकट सञ्चारकर्मीहरुको भेला गरी पार्टी अध्यक्ष दावी गर्ने घोषणा गरेका थिए। पार्टी अध्यक्ष केपी शर्मा ओलीको पहिलो विकल्प आफू नै भएको उनी निकटस्थसँग बताउँछन्।

ओली पुनः अध्यक्षका लागि तम्तयार भए नलड्ने र अन्य नेताहरूको सन्दर्भमा नछाड्ने उनको भनाइ छ। ओलीनिकट नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल र शङ्कर पोखरेल लगायत भावी नेताका रुपमा अगाडि देखिएका नेताहरुविरुद्ध आफूनिकटहरुलाई सक्रिय हुन उनले निर्देशन दिएका छन्। पार्टी अध्यक्ष ओलीसहितको समूहले आफूलाई बारम्बार पाखा लगाउने काम गरिरहेको उनको मुख्य गुनासो छ।

‘मविरूद्ध के–कस्ता षड्यन्त्र भइरहेका छन्, तपाईंहरूलाई राम्रोसँग जानकारी छ। नेकपा हुँदा मेरो जिम्मेवारी खोसियो तर पनि चूपचाप सहेर बसेँ,’ महासचिव पोखरेलले आफूनिकटलाई भनेका छन्, ‘मैले विद्रोहको सोच बनाएको छुइनँ तर आगामी महाधिवेशमा नयाँ ढङ्गले सोच्नैपर्छ। नत्र हाम्रो लागि पार्टीमा स्थान हुँदैन।’

पार्टीभित्र उप–महासचिव विष्णु पौडेल समूह हाबी गइरहेको महासचिव पोखरेलले पटक–पटक टिप्पणी गरेका छन्। पोखरेल समूहले संसदीय दलका उपनेता नेम्वाङको समेत टिप्पणी गरे।

एमाले अध्यक्ष ओली दलबलसहित बुटवल पुगेको प्रसङ्गबारे चर्चा गर्दै उप–महासचिव पौडेल महाधिवेशन लक्ष्यित शक्ति सञ्चयमा लागेको विश्लेषण गरे। पोखरेलले कार्यकर्तालाई शनिवार भने, ‘मलाई लाग्छ, यहाँ अर्कै खेल सुरु भइसकेको छ। हामीहरूले यस्ता षड्यन्त्रहरू बुझ्न ढिलो गनुहुँदैन।’

उप–महासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल, पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित एमाले अध्यक्ष ओली बुटवल पुगी बुधबार जिल्लास्तरीय कार्यक्रममा सहभागी हुनुलाई महासचिव पोखरेलले आफूलाई किनारा लगाउने नयाँ खेलका रुपमा बुझेका छन्।

‘माधवजीले नयाँ पार्टी बनाएपछि भीम रावल र सुरेन्द्र पाण्डे समूहबीच चर्को विवाद छ। उहाँहरू मिल्न सक्नुहुन्न,’ उनले भने, ‘यतापट्टी विष्णु कमरेड र शङ्करको पनि मेल छैन। यसलाई हामीले उपयोग गर्नुपर्छ।’

महासचिव पोखरेललाई सबैभन्दा ठूलो ‘थ्रेट’ उप–महासचिव पौडेलसँग छ। ओली पुनः अध्यक्षका लागि तयार नभए पौडेलको परिस्थिति बन्ने छ।

पौडेललाई पार्टी नेतृत्वमा ल्याउन अध्यक्ष ओलीले महाधिवेशन केन्द्रीत अभियान थालेको पोखरेल समूहको बुझाइ छ। पोखरेलले तीन महिनाभित्र जिल्ला नेतृत्वमा पुग्ने गरी प्रभाव बढाउन र सञ्चारमाध्यमलाई प्रभावकारी रूपमा परिचालन गर्न आग्रह गरे।

एमाले–माओवादी एकताविरोधी थिए पोखरेल। नेकपा बन्दा दुई पटक निर्वाचित महासचिव पोखरेल हटाइएको र नारायणकाजी श्रेष्ठभन्दा पनि तल्लो हैसियतमा झारिएका उनले एकतालाई सहज रुपमा लिन सकेका थिएनन्।

त्यस हिसाबले एमाले र माओवादी केन्द्र छुट्टिएपछिको अहिलेको राजनीति उनका लागि अनकूल हुनुपर्ने हो। उनले भेलामा भने, ‘ओलीले मलाई कमजोर बनाउन के–केसम्म गर्नुभएन तर पनि म उहाँकै साथमा छु।’

युवापुस्तामा जनताको बहुदलीय जनवादबारे स्थानीय तहसम्म मन्थन गर्न आवश्यक रहेको जिकीर गरे। केन्द्रमा सम्भव नभए पनि प्रदेश, जिल्ला र स्थानीय तहमा मदन भण्डारी फाउन्डेशनको नेतृत्व गर्नुुपर्ने औँल्याएका छन्। ‘एमाले र फाउन्डेशनबीच जीवन्त आस्था जोडिएको छ। हामीहरूले यस्ता कुरामा ध्यान दिन जरूरी छ। मदन भण्डारी फाउन्डेशन सामान्य संस्था होइन। यो एमालेभित्र स्थापित हुने जग पनि हो।’

प्रकाशित मिति: : 2021-09-19 21:27:00

प्रतिकृया दिनुहोस्