लोकसेवा आयोगले नतिजा ननिकाल्दा परीक्षार्थी आन्दोलनमा (भिडियो)

सौजन्य : नरबहादुर ठकुन्ना
सौजन्य : नरबहादुर ठकुन्ना

लोकसेवा आयोगका परीक्षार्थीहरुले अधिकृत पदको परीक्षाको नतिजा प्रकाशन गर्न ढिलाइ गरेको विरोधमा परीक्षार्थीहरु आन्दोलनमा उत्रिएका छन् । 

उनीहरुले सोमबार बिहान आयोग केन्द्रीय कार्यालयको मूलद्वारअगाडि धर्ना दिएका छन्। 

प्रदर्शनमा उत्रिएका एक जना परीक्षार्थी सुदीप सापकोटाले मंगलबार बिहान पनि आयोग अगाडि प्रदर्शन गर्ने बताए। 

बिएल नेपाली सेवासँग एक जना परीक्षार्थीले भने, ‘तीन वर्ष अघि परीक्षा दिएर समायोजनमा हाम्रो अन्तिम सिफारिस रोकिएको छ। समायोजनको नाममा विभिन्न बक्यौता देखाएर सिफारिस गरेको छैन। सबैले विश्वास गर्ने संवैधानिक अगंले नै यस्तो गरेपछि कसले विश्वास गर्ने? हजारौँ विद्यार्थीको भविष्य के हुन्छ? मलाई त शंका नै लागेको छ, लोकसेवा हो कि रोगसेवा हो! विद्यार्थीको भविष्य अन्यौलमा पारिदिएको छ।’ 

लोक सेवा आयोगले पदपूर्तिका लागि लिएको परीक्षाको अन्तर्वार्तासमेत गत भदौ ८ गते नै लिइसकेको थियो तर असोज पहिलो सातासम्म पनि नतिजा प्रकाशन नभएपछि परीक्षार्थीहरु आन्दोलनमा उत्रिएका हुन्। 

प्ले कार्डसहित धर्नामा उत्रिएकाहरुले प्लेकार्डमा लेखेका छन्, ‘लोक सेवामाथि विश्वास गर्ने दिन सकिएको हो ?’ ‘परीक्षा लिन सक्ने, नतिजा दिन नसक्ने ?’ आदि। 

२०७६ मंसिर २५ मा प्रकाशित अधिकृतको विज्ञापनमा अन्तर्वार्ता परीक्षा दिएर बसेकाहरु अन्तिम नतिजा कुरिरहेका छन् तर लिखित पास गरेर अन्तर्वार्ता दिएका अधिकृतका उम्मेद्वारहरू नतिजा नआउँदा अफ्ठेरोमा परेका छन्।

प्रकाशित मिति: : 2021-09-20 14:09:00

प्रतिकृया दिनुहोस्