प्रदेश २ मा भ्रष्टाचारको चाङ– निर्माणमा व्यापक अनियमितता, चियाखाजामै ८८ लाख खर्च !

लोकान्तर

काठमाडाैं

२०७४ फागुन ३ गते प्रदेश नम्बर २ को मुख्यमन्त्री पदमा मोहम्मद लालबाबु राउत गद्दीले पद तथा गोपनियताको सपथ लिएका थिए।

भोजपुरी भाषामा शपथ लिएका गद्दीले पछि नेपाली भाषामा आफ्नो धारणा राख्ने क्रममा सुशासन नै सरकारको प्रमुख प्राथमिकता रहेको बताएका थिए।

भ्रष्टाचारमा शुन्य सहनशीलता प्रदेश सरकारको प्रमुख प्रतिबद्धता रहने उनले घोषणा गरेका थिए। तर सरकार सञ्चालनमा साढे ३ वर्षको कार्यकालमा उनले भनेका कुरा भाषणमा मात्र सीमित भएका छन्।

सुशासनको नारा जप्ने मुख्यमन्त्री गद्दीले सुशासनभन्दा पनि कुशासन, भ्रष्टाचार आदिको नेतृत्व गरेको आरोप आलोचकहरूले लगाउन थालेका छन् । उनी मातहत रहेको अन्य ६ वटा मन्त्रालयहरूमा देखिएको अनियमितता भन्दा पनि उनी आफैंले नेतृत्व गरेको मन्त्रालयमा व्यापक अनियमितता भएको पाइएको छ।

महालेखा परीक्षकको कार्यालयले प्रत्येक वर्ष सार्वजनिक गर्ने गरेको वार्षिक प्रतिवेदनले पनि त्यो कुराको पुष्टि गरेको छ।
विगतका वर्षहरू जस्तै आर्थिक वर्ष २०७६/०७७ मा समेत गद्दीले आफ्नै नाममा सञ्चालन गरेको कतिपय कार्यक्रम, अभियानमा व्यापक अनियमितता भएको भेटिएको छ।

मुख्यमन्त्री स्वच्छता अभियानमा कर्मचारी नियुक्तिदेखि निर्माणको काममा अनियमितता

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट सञ्चालन हुने 'मुख्यमन्त्री स्वच्छता अभियान' मा कर्मचारी भर्नादेखि पोखरी सौन्दर्यीकरण लगायतको काममा अनियमितता गरिएको छ।

उक्त कार्यक्रमअन्तर्गत निर्माण हुने मन्दिर, पोखरी सौन्दर्यीकरण, भवन मर्मत सम्भार, मस्जिद निर्माण, कब्रिस्थान निर्माण, इनार निर्माण, महिला शौचालय निर्माण, चापाकल जडान लगायतका कार्यक्रममा अनियमितता गरेको भेटिएको छ।
 

प्रकाशित मिति: : 2021-09-21 12:41:00

प्रतिकृया दिनुहोस्