सुर्खेत र डोल्पामा क्रियाशील सदस्य विवादले नेपाली कांग्रेसका वडा अधिवेशन प्रभावित भएका छन्।
पार्टीको १४औं महाधिवेशन अन्तर्गत सुरुमा हुनुपर्ने वडा अधिवेशनहरु गर्ने कार्यतालिका अनुसार हुन सकेको छैन।
भदौ १८ देखि सुरु भएका वडा अधिवेशन क्रियाशील सदस्यताको विवाद नमिल्दा यी जिल्लामा असोज ५ गते दोस्रो चरणको मिति तोकिएता पनि वडा अधिवेशन हुन नसकेको हो।
प्रदेशका १० जिल्लामध्ये दैलेख, जाजरकोट, सल्यान, रुकुम–पश्चिम, हुम्ला, मुगु, जुम्ला र कालीकोटमा वडा अधिवेशन सम्पन्न भइसकेको छ। अधिवेशन हुन बाँकी दुवै जिल्लामा भने सदस्यता विवाद कायमै छ।
अधिवेशन अझै कहिले हुने भन्नेबारे टुङ्गो नभएको ती जिल्लाका सभापतिहरूले जनाएका छन्।
कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले क्रियाशील विवाद कायमै रहेको र केन्द्रले अझै क्रियाशील सदस्यता सूची सार्वजनिक नगरेको बताए।
उनका अनुसार सुर्खेतका लागि निर्वाच अधिकृत समेत तोकिएको छैन। ‘वडा अधिवेशनबारे अहिलेसम्म अन्यौल नै छ’ उनले भने।
सुर्खेतमा अखण्ड नेपाल पार्टीबाट कांग्रेसमा आएकाहरुलाई सदस्यता दिनेबारे विवाद रहेको पार्टी स्रोतले बताएको छ।
केन्द्रले अखण्ड नेपालबाट आएका एक सय ९९ जनालाई क्रियाशील सदस्यता दिने परिपत्र गरेपछि नेता रामचन्द्र पौडेल पक्षले आपत्ति जनाउँदै आएको छ।
दुई पक्षबीच विवाद चुलिएपछि वीरेन्द्रनगरका चारवटा वडाहरूको क्रियाशील सदस्यता स्थगन गरिएको छ। वीरेन्द्रनगर ३, ६, ८ र ११ नम्बर वडाका सात सय जनाको नयाँ क्रियाशील सदस्यता स्थगन गरिएको हो।
कांग्रेस सुर्खेतले जिल्लाभरबाट ११ हजार आठ सय ६० जना क्रियाशील सदस्यको नाम केन्द्रमा सिफारिस गरेको छ।